५ भदौ, काठमाडौं । आदिवासी जनजाति महासंघले आइतबार र सोमबार दुई दिन नेपाल बन्दको घोषणा गरेको छ । संविधानको नयाँ मस्यौदाको विरोध गर्दै महासंघले दुई दिने बन्दको घोषणा गरेको हो । विगतमा गरेको सहमति र अन्तरिम संविधानको भावनाविपरीत नयाँ संविधान ल्याउन लागिएकोले विरोधस्वरुप बन्दको कार्यक्रम राखिएको महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले नेपालदेश डट कमलाई जानकारी दिए ।
पहिचानका पाँच आधार सामाथ्र्यका चार आधारलाई बेवास्ता गर्दै तीन दलका नेताले आफ्नो व्यक्तिगत स्वार्थअनुसार संघीय प्रदेश बनाउन खोजेको आरोप समेत लेखीले लगाए । जागिरमा जनजातिलाई समावेशी र आरक्षणको व्यवस्था गर्नका लागि समेत आन्दोलन थालिएको उनले बताए ।

६ प्रदेश र नयाँ रुपमा ल्याउन लागेको सात प्रदेश कुनैले पनि थारुहरुको अधिकार सुरक्षित नभएको ठहर जनजाति महासंघले गरेको महासंघको आन्दोलन परिचालन सचिवलायका सदस्य समेत रहेका लेखीले जानकारी दिए । आइतबार र सोमबारको बन्द शान्तिपूर्ण हुने दावी उनले गरे । विगतमा भएका जनजाति आन्दोलमा प्रेसमाथि भएको आक्रमणबारे सिधा जवाफ नदिएका लेखीले कसैमाथि आक्रमण गर्ने महासंघको उद्देश्य नभएको दावी गरे । युरोपियन युनियनको आर्थिक सहयोगमा धर्म निरपेक्षता लागि आन्दोलन गरेको भन्ने महासंघप्रतिका आरोपको खण्डन गर्दै लेखीले आफ्नो कार्यकालमा महासंघले डिएफआइडी लगायतका संस्थाको लाखौं रकम अस्वीकार गरेको उल्लेख गरे । कांग्रेस र एमालेका नेताका श्रीमतीले एनजीओ चलाएर डलर र युरो खाएर उनीहरुले नै उल्टो जनजातिलाई यस्तो आरोप लगाउने गरेको तर्क लेखीको थियो ।











