४ भदौ, काठमाडौं । प्रमुख दलबीच सात प्रदेश बनाउने सहमति भएपछि आजै संविधानको विधेयक टुंगो लगाउने तयारी भैरहेको छ । विधेयक तयार पार्नका लागि मस्यौदा समितिको कार्यदल तम्तयार भएर बसेको छ । शीर्ष तहबाट सहमति भएका कारण संविधानको विधेयकलाई आजै पूर्णता दिने तयारीमा कार्यदल छ।

तर चार दलको बैठकमा आफ्ना माग र मुद्दाको सुनुवाई नभएको भन्दै फोरम लोकतान्त्रिक चार दलीय मोर्चाबाट अलग हुने बताएको छ ।
मस्यौदा समितिको विशेष कार्यदल पनि सिंहदरबारमा बिहानदेखि बसिरहेको छ। कार्यदलका संयोजक तथा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आजै कार्यदलले विधेयकको मस्यौदालाई अन्तिम रुप दिने बताएका छन् ।
कार्यदलले मोटामोटी रुपमा विधेयक तयार गरे पनि सिमांकनलगायतका केही विषयमा शीर्ष तहमा छलफल जारी रहेकोले कार्यदलको म्याद चार दिन थपिएको थियो । थपिएको चार दिनको म्याद आजै समाप्त हुँदैछ। आज बेलुकासम्ममा सहमति भए नभए पनि विधेयकसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारीमा कार्यदल छ।











