३ भदौ, काठमाडौं । गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टर कांग्रेसको आसन्न महाधिवेशनसँग जोडिएको रहस्य खुलेको छ । कांग्रेस नेताहरुकै अनुसार महाधिवेशनमा घैंटेलाई उपयोग गर्ने योजना केही नेताहरुले बनाएको र त्यसको विरुद्धमा कांग्रेसकै अर्को पक्षले इन्काउन्टर गराएको नेताहरुले बताएका छन् ।

डन घैंटेसँग निकट रहेका अर्जुननरसिंह केसी र उनका भाइ जगदीश्वरनरसिंह केसीको अभिव्यक्तिले कांग्रेस नेताहरुका विभिन्न कर्तुतको खुलासा हुने दावी नुवाकोट कांग्रेसका सदस्यहरुले बताएका छन् । कांग्रेस महाधिवेशनको मुखमा केसी दाजुभाइले डन घैंटेमार्फत परिणाम आफ्नो पक्षमा ल्याउनेदेखि आर्थिक परिचालनको योजना बनाएका थिए । आफूहरुको यस्तो योजना तुषारापात भएपछि अहिले केसी दाजुभाइ मर्माहत भएको विश्लेषण कांग्रेसका एक नेताले गरे । अर्कोतर्फ केसी दाजुभाइलाई कमजोर बनाउन कांग्रेसभित्रैबाट समेत प्रहरी प्रयोग गरेर घैंटेको इन्काउन्टर गराइएको केसी निकट स्रोत बताउँछ ।











