२ भदौ, काठमाडौं । संविधानको मस्यौदामा असन्तुष्ट रहेका मधेस केन्द्रित दलहरुले जनतालाई पैसाको लोभ देखाएर आन्दोलनमा ल्याउने निर्णय गरेका छन् । मधेसी मोर्चाको बुधबार बसेको बैठकले आन्दोलनका क्रममा मधेसमा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति निर्णय गरेको छ । यस्तो विवादास्पद निर्णयले पचास लाख दिएर मान्छेलाई मर्न आह्वान गरेको प्रष्ट भएको छ । यसले मधेसी दलहरुले जनताको हीतका लागि आन्दोलन नगरी आफूहरुकै व्यक्तिगत स्वार्थका लागि हिंसा भड्काएको देखिएको छ ।
मधेसमा आन्दोलन उचाल्न र जनतालाई भड्काउनका लागि पहिले नै ज्यानको मूल्य पचास लाख तोकेर सहिदको अपमान गर्न खोजेको भन्दै यो निर्णयको सबैतिरबाट आलोचना गरिएको छ।
आन्दोलनमा उत्रन जनतालाई लोभ्याउने मनसायले मृतकका परिवारका एक सदस्यलाई रोजगारी र निशुल्क शिक्षा दिने हचुवापूर्ण निर्णय पनि उनीहरुले सार्वजनिक गरेका छन्।
मधेसी दलहरुका तर्फबाट विज्ञप्तीमा राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकूर र रामनरेश यादवले हस्ताक्षर गरेका छन्। पचास लाख प्रलोभन देखाएर जनतालाई मर्न अपिल गरेको भन्दै सामाजिक सञ्जालमा मधेस केन्द्रित दलहरुले गरेको यो निर्णयको चर्को निन्दा गरिएको छ।
सरकारले मृतकलाई दश लाख दिएको उल्लेख गर्दै नेताहरुले आफूहरुले पचास लाख दिने घोषणा गरेको अभिव्यक्ति दिएका छन् ।











