२ भदौ, सप्तरी, । प्रहरी कार्यालय आक्रमण गर्न जाँदा प्रहरीले आत्मरक्षाको उपाय अपनाएपछि झडपमा मृत्यु भएका सप्तरीका राजीव राउतको लाशमाथि मधेसकेन्द्रित दलहरुको राजनीति सुरु भएको छ । राजिव राउत र उनको परिवारलाई आफ्नो पार्टीको बनाउन मधेसकन्द्रित असन्तुष्ट दलहरुको कसरत वुधबार दिनभर भारदहमा जारी रह्यो । मधेसबाट लगभग विस्थापित भएको राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले त यही मुद्दाले पार्टीलाई ठूलो बनाउने योजनाअनुरुप संविधान सभाबाट आफ्ना सभासद्हरुले राजिनामा दिने घोषणा पनि गर्यो ।

काठमाडौंमा महल बनाएर बसेका तर मधेसको राजनीति गर्ने दावी गर्ने राजेन्द्र महतोले संविधान सभा निर्वाचन हारेपछि आफ्नो अस्तित्व बचाउन राउतको लाशमाथि राजनीति सुरु गरेको एक मधेसी नेताले बताए ।
प्रहरीको गोली लागेर मंगलबार मृत्यु भएका सप्तरी भारदह १ का राजीव राउतलाई सहिद घोषणा नगरिएसम्म उनको शव नबुझ्न समेत केही मधेशवादी दलका नेताहरुले परिवारलाई उक्साएका छन् ।
वुधबार सर्वदलीय बैठक बसेर राउतको अन्त्येष्टी गर्ने निणय भए पनि महतोका कार्यकर्ताले प्रदर्शनकारीलाई भड्काएपछि अन्त्येष्टी हुन सकेन । कैलालीबाट लखेटिएको महतो सप्तरीबाट पनि लखेटिने त्रासका कारण उनी त्यहाँ गएका छैनन् । महतो निर्वाचनका क्रममा भोट माग्न मधेसका विभिन्न स्थानमा जाँदा समेत लखेटिएका थिए । आफू जान नसकेपछि उनले आफ्नो पार्टीका महासचिव मनिष सुमनलाई त्यहाँ पठाएका छन् । तर अन्य तराईकेन्द्रित दलले भने स्थानीय नेतालाई नै सहभागी हुन आग्रह गरेका छन् ।

सप्तरीमा हिंसा भड्काउन अराजकहरुको समूहले मृतक राउतका परिवारलाई स्थायी सरकारी जागिरको व्यवस्था गर्नुपर्ने र २० लाख क्षतिपूति दिनुपर्ने माग समेत गरेको छ । संघीयता बनेपछि सबैलाई रोजगारी दिने भन्दै चुनावका वेला बाँडेको खोक्रो आश्वासन मृतक राउतको लाशमाथिको वार्गेनिङका रुपमा मधेसी नेताहरुले उठाएका छन् । जब कि यस्तो माग आजसम्म कसैले गरेको थिएन र लोकसेवामार्फत मात्रै नेपालमा स्थायी जागिर पदस्थापन गर्ने कानुनी प्रावधान छ ।
प्रहरी कार्यालयतर्फ गोली चलाउने समूहसँग गएका राउतमाथि गोली चलाउने प्रहरी अधिकृतलाई कर्तव्य ज्यान मार्ने मुद्दा लगाई कडाभन्दा कडा कार्वाही गरिनुपर्ने माग मधेसी मोर्चाले गरेको सप्तरीस्थित हाम्रा संवाददाताले जनाएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई तुरन्त बर्खास्त गर्नुपर्ने माग समेत गरिएको छ ।











