२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सप्तरीको भारदहमा आत्मरक्षाका लागि गोली चलाउँदा उपचारका क्रममा एकजनाको मृत्यु भएको दाबी गर्नुभएको छ ।
व्यबस्थापिका संसदको बुधबारको बैठकमा बिभिन्न सभासदहरुले उठाएका प्रश्नको जवाफ दिंदै गृहमन्त्री गौतमले प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई आत्मरक्षाका लागि गोली चलाउँदा उपचारका क्रममा एकजनाको मृत्यु भएको दाबी गर्नुभएको हो । भारदहमा भेला भएका करिब सात सयजना आन्दोलनकारीलाई प्रहरीले बारम्बार शान्ति सुरक्षामा खलल हुन नदिन आग्रह गरेका तर उनीहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि बाध्य भई स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताउनुभयो । सुरक्षाकर्मीका सवारी साधन तोडफोड हुन थालेपछि सामान्य लाठी र अश्रुग्यास प्रहार गरी परिस्थिति काबुमा लिन हरसम्भव प्रयास गरिएको उहाको भनाई छ ।











