२ भदौ, काठमाडौं । आज नेपाल लगायत विश्वभर नागपूजा गरिंदै छ । हिन्दू परम्पराअनुसार आज नाग पञ्चमी भएकोले नागको पूजा गरेर नागपञ्चमी पर्व मनाईदैछ । नेपालीहरुले आआफ्ना घरको ढोकामा नागको तस्वीर टाँसेर नागस्थानमा गएर नागपूजा गर्ने प्रचलन छ ।

नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले पूजागरी दुध र लावाको नैवैद्य चढाई घरको मुल ढोकामाथि टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको पनि डर नहुने धार्मिक मान्यता छ ।
गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्ने गरिन्छ । नागपञ्चमीका अवसरमा काठमाडौँका टौदह, नक्सालको नागदह, धापाखेलको नागदहलगायत ठाउँमा विशेष मेला लागेको छ ।

विशेषगरी काठमाडौंको नारायणहिटी दरबारनजिकै रहेको नागपोखरीमा आज विशेष मेला लागेको छ । पोखरीबीचमा रहेको नागको सुवर्ण प्रतिमामा दूध चढाउने तथा मेला भर्नेको त्यहाँ घुइँचो लाग्यो । नागपोखरीमा एक सातासम्म चल्ने मेलामा डुङ्गा शयर गर्ने लगायतको व्यवस्था गरिएको छ ।












