२ भदौ, सिराहा । सप्तरीको आन्दोलन उग्र बन्दै गएको छ । वुधबार अराजक समूहले राजमार्गमा गुडको सर्वसाधारणका गाडीमा आगजनी गर्नुका साथै प्रहरी विट समेत जलाएका छन् । अराजकहरुको यो अत्याचार भने प्रहरीले टुलुटुलु हेरिरहेको छ । मंगलबार भएको झडप पछि लगाइएको कर्फ्यू वुधबार खुल्ने वित्तिकै प्रदर्शनकारीले भारदह चोकमा रहेका प्रहरी बिट जलाएका छन् । राजमार्गमा गुडिरहेको स ४ प ७९३८ नम्बरको साइकलमा समेत अराजक समूहले आगजनी गरेको छ ।

यसैबीच आजै भएको सर्वदलीय बैठकले मंगलबार प्रहरीको गोली लागि मृत्यु भएका राजीव राउतको दिउँसो ४ बजे शान्तीपूर्ण शवयात्रा गरी दाहसंस्कार गर्ने निर्णय गरेको छ । प्रदर्शनकारीहरु उग्र भए पनि प्रहरी आज ईलाका प्रहरी कार्यालयबाट बाहिर निस्केको छैन ।
वुधबार प्रहरी कार्यालयमाथि प्रदर्शनकारीले गोली चलाएपछि स्थिति तनाव ग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले हिजो दिउँसो ४ बजे देखि आज बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।
दुवै पक्षको झडपमा भारदह–१ का २४ वर्षीय राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै भारदह–१ का ४० वर्षीय देवनारायण विश्वास, भारदह–२ का ३५ वर्षीय सुरेन्द्र मण्डल, भारदह–१ का ११ वर्षीय बालक दीपक साह, भारदह–१ का १८ वर्षीय सत्यनारायण राउत, भारदह–२ का २० वर्षीय गोपाल मण्डल, विजय ठाकुर र पोर्ताहा–५ का अमित यादवको विराटनगर र धरानमा उपचार भइरहेको छ। विश्वासको दुवै खुट्टा र मण्डलको एउटा खुट्टामा गोली लागेको छ।











