१ भदौ, काठमाडौं । नेपालको तराई भूभागलाई पाकिस्तानबाट बंगलादेश अलग गरेझैं अलग पार्ने उत्तेजक अभिव्यक्ति दिएका कांग्रेस सभासद अमरेश कुमार सिंहले आफूलाई जेल हालेर देखाउन सरकारलाई चुनौति दिएका छन् ।
संसदको राज्य व्यवस्था समितिको मंगलवारको बैठकमा सभासद सिंहले आफ्नो भाषणको अडियो भिडियो सुन्ने र हेर्ने होइन सिधै गोलघरमा थुनेर देखाउन धम्की दिए।
उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम उपस्थित बैठकमा सिंहले भने, ‘गृहमन्त्रालयले सक्छ भने यस्तो देश बिखण्डन गर्नुपर्छ भनेर बोल्ने सभासदलाई जेलमा हालोस् । जेल पनि अरु होइन गोलघरमा हालोस् सक्छ ।’
मधेसकेन्द्रित नेता उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले कैलालीको टिकापुरमा गएर पहाडेलाई लेखट्ने र देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै सरकारले उनीहरुको भाषणको टेप र अडियो संसदमा पेश गरेको थियो ।
सभामुखको निर्देशन अनुसार सो अडियो भिडियो हेरेर कारवाही प्रक्रिया अघि बढाउन मंगलबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सभासद सिंहले उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरेर राज्यलाई चुनौति दिए ।
सभासद सिंहले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै तत्कालै समितिका अर्का सदस्य मानप्रसाद खत्रीले आपत्ति जनाए । खत्री सुदूरपश्चिमको बझाङका निर्वाचित सभासद हुन् ।
समितिका अर्का सदस्य राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले नेपालको संसदमा नेपाली मात्र नभएकाले यस्तो अराजकता उत्पन्न भएको बताए ।
भारतको गाजियावादमा स्थानीय चुनाव हारेका व्यक्ति नेपालको सभासद बनेका हुनाले नेपाल सरकारले केही कारवाही गर्न नसक्ने उनले उल्लेख गरे ।
समितिमा यादव, महतो र सिंहको भाषणको भिडियो तथा अडियो अर्को दिनको बैठकमा हेरिने भएको छ । राज्य व्यवस्थाले भदौ ५ गते बैठक बसेर राजेन्द्र, अमरेश र उपेन्द्रलाई कारवाही गर्नेबारे टुंगो लगाउने भएको छ ।











