१ भदौ, धनुषा । सामाजिक सद्भाव भड्काउने मधेसी नेताहरुको अभिव्यक्तिसँगै मधेसमा संचारमाध्यमप्रति आक्रमण सुरु भएको छ । तराई मधेसमा भइरहेका विभिन्न प्रदर्शनमा पत्रिका जलाउने निन्दनीय कार्य भएको छ । आफ्नो विषयमा समाचार नलेखेको भन्दै पत्रपत्रिका जलाउने कार्यले तीब्रता लिँदा प्रहरीलाई समेत समस्या परिरहेको छ ।
पश्चिम नेपालमा पत्रपत्रिका जलाएको एक साता नबित्दै जनकपुरमा आन्दोलनकारीहरुले कान्तिपुर दैनिक च्यात्ने तथा जलाउने कार्य गरेका छन् । उनीहरुले कान्तिपुर पत्रिका जनकपुर छिर्न नदिनेसम्मको घोषणा गरेका छन् ।
तराई मधेस थरुहट बन्दको पूर्वसन्ध्यामा बन्द आयोजकका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायले निकालेको संयुक्त बन्दका क्रममा प्रेस, एम्बुलेन्स र दूध बोक्ने गाडीमाथि कुनै अवरोध नगर्ने उल्लेख गरिएको थियो । तर तिनकै कार्यकर्ताले यसको उल्लंघन गर्ने गरी प्रेसमाथि आक्रमण सुरु गरेका छन् । जनताको सुसूचित हुने अधिकार कुण्ठित हुने गरी पत्रिका जलाउने र पत्रिकालाई कुनै स्थानमा प्रवेश गर्न नदिनेहरुमाथि प्रहरीले समेत कारवाही गरेको छैन ।













