१ भदौ, काठमाडौं । एकीकृत माओवादीका सभासद् प्रभु शाहले एकाएक नयाँ संविधानको विधेयक तयार पारिंदै गरेको अवस्थामा मस्यौदा समितिको सदस्यबाट राजिनामा दिए । एकातिर केही मधेसी दलहरुले मस्यौदाको विरोध गरिरहेका छन् भने अर्कोतर्फ एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई सभापति रहेको संवाद समितिअन्तर्गत शीर्ष नेताहरुले संविधानका विवादित विषयमा सहमति गरेका छन् । संवाद समितिले पठाएको प्रतिवेदन संविधान सभाले पारित गरेर विधेयक बनाउन मस्यौदा समितिमा पठाएको अवस्थामा भट्टराई निकट मानिने शाहले असन्तुष्टी जनाउँदै किन राजिनामा दिए भन्नेबारे क्रन्दन चापागाईंसँग उनले गरेको कुराकानीको अंश :
तपाईंले एक्कासी मस्यौदा समितिबाट किन राजिनामा दिनुभएको ?
मस्यौदा समितिले विधि र प्रक्रिया मिचेर संविधानको मस्यौदा बनाउने काम सुरु गर्यो त्यो कुरा मलाई मन परेन त्यही भएर मैले त्यहाँबाट राजिनामा दिएको हुँ ।
कसरी मिचियो विधि र प्रक्रिया ?
जनताबाट निर्वाचित भएका सभासद्ले संविधान लेख्नुपर्नेमा सभासद्लाई मस्यौदा समितिमा अर्थहीन बनाउने काम भयो । विधेयक बनाउने कार्यदल गठन गरेर सबै कामको जिम्मा कार्यदललाई दिइयो भने मस्यौदा समितिका हामी सदस्यलाई पेण्डुलम बनाउने काम भयो । यसरी अरुले बनाएको मस्यौदामा पारित गर्न मात्र हामीलाई साक्षाी राखिने अवस्था आयो । कार्यदलमा समितिका सभापति कृष्ण सिटौलाले आफूअनुकुलका पाँच जना विशेषज्ञ राखेर सभासद्हरुलाई पूरै अवमूल्यन गर्ने काम भयो । विशेषज्ञले संविधान बनाउने भएको भए संविधान सभा नै किन चाहिन्थ्यो ?
तपाईंलाई जनताले चुनेर पठाएको यस्तौ विकृतिका विरुद्ध लडेर संविधान बनाउनलाई पठाएको कि अप्ठेरो परेको अवस्थामा भाग्नका लागि भनेर ? यो विकृतिविरुद्ध तपाईं त्यहाँ किन नलडेको ?
मस्यौदा समितिमा हामीले त्यहाँभित्रको सहमति गोप्य राख्ने सहमति गरेका थियौं । त्यही भएर अरु समितिमाजस्तो मस्यौदा समितिमा पत्रकारहरुलाई पनि प्रवेश दिइएको छैन । मैले त्यहाँ भित्र उठाएका कुरा कसैलाई पनि थाहा नहुने भो । त्यहीँ बसेपछि प्रक्रियामा असहमति राखेर गोप्यता उल्लंघन गर्नु अनुचित हुने भएकोले मैले पदबाट नै राजिनामा दिएर हुन लागेका गलत कार्यको विरोध गरेको हुँ ।
म एक्लैले समिति छाड्दैमा त्यहाँ अरु सभासद् नभएको होइन । हाम्रै दलका अरु सभासद् पनि त्यहाँ छन् ।
संविधानको विधेयक केकसरी तयार पारिँदै छ ? तपाईंलाई चित्त नबुझेका विषयहरु केके हुन् ?
मस्यौदा समितिका कार्यदलमा संवाद समितिले पठाएको प्रतिवेदन पूरै उल्ट्याइँदैछ । मस्यौदा समितिको काम भनेको संविधान सभाले निर्णय गरेर पठाएका विषयलाई लिपिबद्ध गर्ने काम मात्र हो । तर संवाद समितिमा सहमति भएर संविधान सभाले पारित गरी मस्यौदा समितिमा पठाएको प्रतिवेदन उल्ट्याएर जनताका पूरै अधिकार कटौति गर्ने षडयन्त्र भइरहेको छ । विशेषज्ञ सम्मिलित कार्यदल बनाएर गरिएको यो सुनियोजित षडयन्त्र हो । कांग्रेस एमालेले दलितका अधिकार पनि कटौति गर्न लागिरहेका छन् । वर्ग, क्षेत्र, लिङ्गको अधिकार कुण्ठित गर्ने गरी विधेयक तयार पारिंदैछ ।
त्यसो भए त यो समस्या तपाईंको नभएर प्रचण्ड र बाबुराम भट्टराईको समस्या हो नि । तपाईंकै जस्तो मान्यता राख्ने हो भने त प्रचण्ड र भट्टराईले पनि त्यहींभित्र संघर्ष गर्न छाडेर संविधान सभाबाट राजिनामा दिनुपर्ने भो होइन ?
त्यस्तो होइन । मैले त यस्तो हुँदैछ है भनेर जानकारी दिनका लागि पनि मस्यौदा समिति छाडेको हुँ । संविधान सभा त छाडेको छैन नि । यस्तो भयो भने संविधानको विधेयक तयार हुँदैन । प्रतिवेदन सधैं गोलचक्करमा घुमिरहन्छ । संवाद समितिले सहमति गरेर संविधानसभा मार्फत पठाउने अनि मस्यौदा समितिले सधैं विगार्ने मात्रै गर्यो भने संविधान कसरी जारी होला ? सबैको चित्त बुझ्ने गरी विधेयकको स्वरुप नबनेपछि संविधान सभाले त्यसालाई फेरि संवाद समितिमा पठाउला अनि फेरि संवादमै समय जान्छ । अनि फेरि संविधान सभा हुँदै फेरि मस्यौदामा । अब यो प्रक्रियातिर नगई कुनै छोटो प्रक्रियामार्फत विधेयकलाई अन्तिम रुप दिनुपर्छ ।
हिजो तपाईंहरुले कांग्रेस एमालेलाई मधेसविरोधी भन्दै आलोचना गर्नुहुन्थ्यो । अब अहिले कांग्रेस एमालेकै एजेण्डामा गएर एमाओवादीले सहमति गर्यो भनेर केही मधेशकेन्द्रित दलहरुले आलोचना गरिरहेका छन् । यस्तो अवस्थामा संविधान आयो भने आफ्नो भोट ब्याङ्क गुम्ने हो कि भन्ने डरले तपाईं प्रक्रियाबाट बाहिरिनुभएको त होइन ?
कुरालाई यस्तो गलत तरिकाले प्रस्तुत नगर्नुहोस् । मेरो लडाइँ भनेको जनताका अधिकार स्थापित गर्ने लडाइँ हो । आफ्नो भोट सुरक्षित राख्ने मेरो व्यक्तिगत मनसाय हो कि भनेर तपाईंले शंका गर्नु अनुचित हो । मैले असह्य भएर राजिनामा दिएको हुँ ।











