३२ साउन, थाइल्याण्ड । थाइल्याण्डको राजधानी बैंककस्थित एउटा प्रसिद्ध मन्दिरमा कयौंको ज्यान जाने गरी ठूलो बम विस्फोटन भएको छ।
स्थानीय विवरणहरु अनुसार कम्तीमा १६ जनाको ज्यान गएको छ भने २० जना भन्दा बढी घाइते भएका छन्।
उक्त विस्फोट बैंककको मध्य चिडलोम क्षेत्रमा रहेको एरावान मन्दिर नजिकै भएको थियो।
स्थानीय समय अनुसार सांझको सात बजे भएको उक्त विस्फोटन मोटर साइकलमा राखिएको बमका कारण भएको बताइंदै छ भने अन्य विवरणहरुमा, बम नजिकैको विजुलीको खम्बामा बांधेर राखिएको बताइएको छ।
उक्त हमलाको जिम्मेवारी हालसम्म कसैले पनि दावी गरेको छैन।
थाइल्याण्डका रक्षामन्त्री प्रवित वोंगसुवोंगले त्यो टीएनटी बम भएको बताउंदै, हमलाकारीको उद्देश्य विदेशीहरुलाई लक्षित गर्नु र देशको पर्यटन उद्योग र अर्थतन्त्रलाई क्षति पुर्याउनु रहेको दाबी गरेका छन्।
घटनास्थलमा रहेका बीबीसी संवाददाता भन्छन् विस्फोटन भएको मन्दिर बैंककको निकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो, जुन एउटा पाँच तारे होटेल नजिकै रहेको छ।
हिन्दु देवता ब्रम्हाप्रति समर्पित तथा पर्यटकहरुमाझ लोकप्रिय उक्त मन्दिरमा हरेक दिन हजारौं बौद्धमार्गीहरु पनि दर्शनार्थ पुग्ने गर्दथे।
मन्दिर नजिकै तीनवटा ठूला किनमेल केन्द्रहरु पनि रहेका छन्।
बीबीसी संवाददाता भन्छन् – बैंककमा बम हमला एकदमै दुर्लभ घटना हो। देशमा सन् १९६०को दशक देखि मुसलमान विद्रोह त जारी छ तर त्यो सामान्यतया देशको दक्षिणी भेगमा मात्रै सिमित छ।
त्यहां विगत दश वर्षमा केही कार बम हमलाहरु त भएका छन् तर अन्य क्षेत्रमा विरलै मात्र हमलाहरु हुने गरेका छन्। – बिबिसी











