३२ साउन, काठमाडौं । दुई दिने आम हडताल गर्ने दलहरुबीच नै विवाद सुरु भएको छ । संविधान सभाबाहिरका ३३ दल र संविधान सभाभित्रका मधेसकेन्द्रित केही दलबीच खटपट सुरु भएको हो । आइतबार र सोमबार दुई दिन आमहडताल आह्वान गरे पनि प्रभावकारी बन्न नसकेपछि दलहरुबीच विवाद सुरु भएको हो । दुई दिने बन्दले जनजीवनलाई समस्या परेको भन्दै मोहन वैद्य नेतृत्वको माओवादी र सो दलको नेतृत्वको ३३ दलीय मोर्चाले आज दिउँसो १ बजेदेखि बन्द समापन गरे पनि मधेसी दलहरुले निहुँ खोज्दै अनिश्चितकालीन आम हडताल गर्ने बताएपछि दुवै पक्षबीच तीव्र विवाद भएको छ । विवादकै बीच अहिले आमहडताल गरेका दलका शीर्ष नेताबीच बैठक भैरहेको छ ।

माओवादीले आजको बन्द १ बजेपछि स्थगित गरेका कारण राजधानीमा सवारी साधन आवागमन सहज बनेको छ । तर मधेसी दलका नेताहरु रिसाएका कारण माओवादीले १ बजे गर्ने भनेको आमसभा भने स्थगित गरेको छ । आमसभा र र्याली स्थगित गरिएको जानकारी माओवादी पोलिट्व्युरो सदस्य तथा विशेष राज्य समिति इन्चार्ज दिनेश शर्माले जानकारी दिए । दलहरुबीच विवाद भएका कारण सभा स्थगित गरिएको र बन्द फिर्ता समेत चार बजेसम्मलाई सारिएको उनले दावी गरे । तर एक बजेबाट नै बन्द स्थगित भएको समाचार त्यसपहिले नै सम्पे्रषण भैसकेका कारण अहिले बन्दको प्रभाव छैन । चार बजेपछि संयुक्त विज्ञप्ती आउने पनि शर्माले जानकारी दिए ।











