नेपाली कांग्रेस अहिले १३ औं महाधिवेशनको संघारमा छ । पार्टीको नेतृत्व हत्याउने होडबाजीमा कांग्रेस नेताहरु लागिरहेका छन् । तर, गणेशमान सिंहका प्रिय मानिएका र पञ्चायतकालमै कांग्रेसका उम्मेदवार बनेर काठमाडौं नगर पञ्चायतका प्रमुख बनेका एक नेता भने अहिलेका कांग्रेसी नेताहरुमा नेतामा हुनुपर्ने कुनै पनि गुण नभएको बताउँछन् । ती नेता हुन् हरिबोल भट्टराई । कांग्रेस नेतामा हुनुपर्ने तीन गुण विचार, दक्षता र चरित्र अहिलेका कुनै पनि नेतामा नभएको तर्क भट्टराईले नेपालदेश डट कमसँग गरे ।
हरिबोल विजुली बजारको त्यही घरमा भेटिए जुन घरमा डेरा गरेर बस्दा उनी २०४३ सालमा काठमाडौं नगरपञ्चायतका प्रमुखमा निर्वाचित भएका थिए । संयोगले त्यही घरमा शुक्रबार पुगेका भट्टराईले नोस्टाल्जिक हुँदै भने – ‘यो घर त मेरो लागि लक्की घर हो यहीँ बस्दा नै म मेयर भएको हुँ ।’ २०४३ साल चैत्र २० मा भएको चुनावमा आफू काठमाडौंको प्रमुखको चुनाव लडेको र विजयी भएको स्मरण उनले सुनाए ।
त्यसअघिको रापंसको निर्वाचन बहिष्कार गरे पनि २०४३ सालको नगर पञ्चायतको निर्वाचनमा भने कांग्रेसले सहभागी हुने निर्णय गरेको थियो । तर यो कुरा चित्त नबुझेर आफू सुरुमा नगर पञ्चायतको अध्यक्षमा उम्मेदवार नबन्ने अडान लिएको उनले यसरी सुनाए :
‘यही घरको भूइँतल्लामा मेरो डेरा थियो । मार्शल जुलुम शाक्यले काठमाडौं नगर पञ्चायतको अध्यक्षको उम्मेदवार तपाईं बन्नुपर्यो भन्दै कांग्रेस नेताहरुको सन्देश लिएर आउनुभयो । मैले सिधै भनेँ – ‘जुन व्यवस्थाको विरुद्धमा हामी लडिरहेका छौं त्यही व्यवस्थाको नाइके कसरी बन्ने ?’
पञ्चायतको पोष्ट कब्जा गर्ने कांग्रेस नीति
मार्शलजुलुमजीसँग मैले उम्मेदवार बन्न अस्वीकार गरेपपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तीनै जनाले उम्मेदवार बन्नुपर्ने आग्रह गर्नुभयो । मैले मानिनँ । अन्तिममा गणेशमानजीले भन्नुभयो – ‘हरिबोलजी तपाईं कांग्रेसका निम्ति मर्न तयार छु भन्नुभएको होइन ? मैले जवाफ दिएँ हो । अनि मर्न तयार भएको मान्छे कांग्रेसका लागि उम्मेदवार पनि बन्न कसरी नसक्ने ?’
गणेशमानजीको यो भनाइ पछि मैले जवाफ फर्काउन सकिनँ । उहाँले अझै प्रष्ट पार्दै भन्नुभयो – ‘पञ्चायतकै पोष्ट कब्जा गरेर पञ्चायत सिद्धयाउने कांग्रेसको नीति हो । त्यसैले हाम्रो उम्मेदवारलाई निर्वाचनमा खडा गर्ने निर्णय गरेका हौं ।’
उम्मेदवार भइयो र नभन्दै पञ्चायतभित्रको कांग्रेस उम्मेदवारले नै चुनाव पनि जितिइयो । त्यो ठूलो उपलब्धि थियो ।
इन्टरभ्यु लिन गएका पत्ररकालाई किसुनजीले पाइजामा फर्काएर देखाइदिए
कांग्रेसका संस्थापक नेताहरुको निष्ठाको स्मरण गर्दै किसुनजीको ठट्टा गर्ने बानीबारेको एउटा संस्मरण उनले यसरी सुनाए :
‘एकपल्ट राई थरका एक पत्रकार भट्टराईको अन्तरवार्ता लिन किसुनजीको निवासमा पुगेका थिए । किसुनजीले सोध्नुभयो – ‘किन आको ?’ उनले भने – ‘इन्टरभ्यु लिन ।’
किसुनजीले पाइजामा लगाइरहनुभएको थियो । पाइजामा उचाल्दै भन्नुभयो – ‘इन्टर भनेको भित्र , भ्यु भनेको हेर्नु । लौ त हेर ।’
किसुनजी ठट्टा साह्रै गर्ने तर निष्ठामा अडिग । हिजोका नेतामा विचार र दक्षतामा कमी थिएन । तर आज कांग्रेसभित्र यसको अभाव छ ।
कांग्रेसमाथि प्रश्न गर्दै राजावादीलाई साथ ?
हरिबोल भट्टराई पछिल्लो समयमा हिन्दू राष्ट्र स्थापना गर्ने अभियानमा लागेका छन् । राजतन्त्र फर्काउने कसरतमा लागेका कालीदास बाबाले २०६६ सालमा पशुपति क्षेत्रमा गरेको यज्ञका त भट्टराई संयोजक नै थिए । तर, राजतन्त्र फर्काउने आफ्नो उद्देश्य नभएको उनले बताए – ‘कालीदास बाबा र पूर्वराजाको बीचको सम्बन्ध त मलाई थाहा भएन तर हिन्दू राष्ट्र कायम गर्ने उहाँको अभियानलाई मात्र मैले साथ दिएको हुँ । त्यतिवेलाको यज्ञ पनि हिन्दू राष्ट्र स्थापनार्थ नै गरिएको हो । यतिवेला कालीदास बाबा फेरि नेपाल आउनुभएको छ । संविधानमा हिन्दू राष्ट्र लेखाउन कोसिस गर्ने उद्देश्यसहित नै उहाँ यहाँ आउनुभएको हो ।’
कालीदास बाबा चरित्रहीन भएको र औपचारिक शिक्षा अध्ययन नै नगरी झूठो विवरण दिएको भन्ने समाचार आएको बारे भट्टराईले भने – ‘त्यो सबै पैसाको खेलमा हिन्दू धर्मविरोधीहरुले गरेको खेल हो । कालीदास बाबाले झूठो कुरा बोल्नुभएको छैन । आफूले गृहस्थी सम्हाल्न नसकेर बाबा बनेको उहाँले भन्नु भएको छ । भगवान बुद्ध पनि त पहिलो गृहस्थ नै त थिए । उहाँको औपचारिक शिक्षा बारेको प्रचार उहाँ आफैंले गरेको होइन उहाँको प्रशंसकहरुले बनाइदिएको वेभ साइटमा त्यस्तो लेखिएको रहेछ । सिद्ध व्यक्तिको औपचारिक शिक्षाको कुनै महत्व पनि हुँदैन ।’











