२९ साउन, काठमाडौं । चितवनका निजी अस्पतालहरुले सर्वसाधारणको स्वास्थ्यमा गर्ने चरम लापारवाही पुनः एकपल्ट सार्वजनिक भएको छ । चितवनको एक अस्पतालका डाक्टरले पत्थरीको अप्रेसनका क्रममा बिरामीको पेटभित्र दुईवटा पाइप नै छाडेका छन्। दुख्न नछाडेपछि बिरामीले पटक–पटक धाउँदासमेत शल्यक्रिया गर्ने चिकित्सक र उपचार गराएको अस्पतालले वास्ता नगरेकाले अन्तै भिडियो एक्सरे गराउँदा पेटभित्र पाइप देखिएपछि चरम लापरबाहीको खुलासा भएको हो।
भरतपुर उपमहानगरपालिका १८ विजयनगरकी ४० वर्षीया गोमा भण्डारीले मिर्गौलामा पत्थरी भएपछि नारायणी सामुदायिक अस्पतालमा शल्यक्रिया गराएकी थिइन्। अप्रेसन डा।ज्ञान पोखरेलले गरेका थिए। मिर्गौलामा १४।७ एमएमको ढुंगा थियो, त्यो झिकियो। उनी औषधि बोकेर घर गइन्। तर निको हुनुको सट्टा दिनदिनै उनी झन् बिरामी हुँदै गइन्। १३ दिनपछि फेरि अस्पताल आइन्। चिकित्सकले राम्रोसँग नहेरी उल्टै औषधि थपेर पठाइदिए। ‘जँचाउन जाँदा पनि राम्रोसँग हेरेनन्,’ उनले भनिन्, ‘औषधि मात्र थपिदिए, जति खाए पनि सन्चै भएन।’
गोमाले अब धामीझाँक्री लगाइन्। केही गर्दा सन्चो नभएपछि फेरि अस्पताल पुगिन्। नारायणी सामुदायिक अस्पतालमै भिडियो एक्सरे गराइन्। तर चिकित्सकले केही नदेखिएको बताए। बिरामीका आफन्तलाई शंका लाग्यो। भरतपुर सामुदायिक अस्पताल र शंकर मेडिकलमा गएर भिडियो एक्सरे गर्दा पेटमा २ वटा पाइप देखियो। त्यति मात्रै होइन, शल्यक्रिया गरेकै ठाउँमा फेरि ६।५ एमएमको ढुंगा देखियो।
‘बाहिर लगेर एक्सरे नगराएको भए अस्पतालले औषधि थपेर पठाउने काम मात्र गथ्र्यो होला,’ बिरामीका भाइ हरि गौतमले भने, ‘धन्न बाहिर गएर एक्सरे गर्दा पाइप र ढुंगा रहेको खुलासा भयो।’
अहिले पनि पेट दुख्ने, छिनछिनमा पिसाब लाग्ने र पीडा सहन नसकेर बिरामीे रुने कराउने गर्ने गौतमले बताए। ‘अस्पतालले लापरबाही गर्दा उपचारमा सास्ती खेप्दै आएका छौं,’ बहिनी रमा पाण्डेले भनिन्, ‘अहिले पनि अस्पतालले समस्या सुन्नै चाहँदैन, गल्ती लुकाउन मात्र खोज्छ।’ बिरामी भएपछि गोमा सुरुमा वैशाख १४ गते पुष्पाञ्जलि अस्पताल पुगेकी हुन्। पछि राम्रो उपचार हुने विश्वासमा परिवारले उनलाई वैशाख १८ गते नारायणी सामुदायिकमा भर्ना गरे। २३ गते शल्यक्रिया गरेर पत्थरी झिकियो। चिकित्सकको सल्लाहमा २८ गते डिस्चार्ज गरेर घर लगियो।
अस्पतालका चिकित्सक भक्तमान श्रेष्ठले गल्ती भएको स्वीकार गर्दै पाइपले खासै समस्या नगर्ने तर्क गरे। अस्पतालकै प्रबन्ध निर्देशक पुष्प धितालले ‘काम गर्दै जाँदा गल्ती हुने’ जवाफ दिए। ‘एक्सरे गर्दा अस्पतालमा सबैतिर हेरेको भए यस्तो समस्या हुने थिएन,’ उनले भने, ‘यसमा गल्ती भएको हो, अब निस्शुल्क उपचार गरेर सहयोग गर्न तयार छौं।’ पीडित परिवारले बिहीबार पनि उपचार नपाएपछि निराश भएर घर फर्किएको बताएको छ।











