जगत भण्डारी
२६ साउन, काठमाडौं । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा आज जारी प्रदर्शनमा थप २ जनाको मृत्यु भएको छ ।
आन्दोलनकारीले वीरेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्धा गोली प्रहार गरेको छ । आजको प्रदर्शनमा प्रहरीको गोली लागि कम्तिमा ५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ पटक फायरिङ्ग गरेको छ । कयौँ पटक अश्रुग्याँस र हवाइ फारीयङ्ग पनि गरिरहेको छ ।
प्रहरीको दमनको चर्काे विरोध गर्दै आन्दोलनमा उत्रिएकाहरुले झन आन्दोलन चर्काइरहेका छन् ।
अखण्ड मध्यपश्चिम माग गर्दै हिडेकामध्ये प्रहरीले चलाएको गोली लागेर हिजो तीन जनाको मृत्यु भएपछी आन्दोलनले हिंसात्मक रुप लिएको हो । प्रदर्शनमा मृतकका परिवार लगायत सहभागी छन् ।
हिजो गोली लागेर वीरेन्द्रनगर नगरपालिका–४ का टिकाराम गौतम र दैलेखको जगन्नाथ गाविस घर भइ वीरेनद्रनगर–८ बस्ने अन्दाजी २५ वर्षका यामबहादुर बिसीको मृत्यु भएको छ ।
भागदौडको क्रममा मंगलगढीचौकमा ६६ वर्षका गोपाल सिंह रजुवारको पनि मृत्यु भएको छ । गोली लागेर हिजो १२ जना आन्दोलनकारी घाइते भएका थिए ।
स्वस्फुर्त भएको बन्दमा सवारी साधन चलेका छैनन भने बजार पनि पूर्ण बन्द छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै बिरेन्द्रनगरका ९ स्थानलाई निशेधीत क्षेत्र घोषणा गरेको छ । कटकुवा हेल्थपोष्ट, पुरानो अस्पताल, घण्टाघर, उसा वोर्डीङ स्कुल, नगरपालीका कार्यालय, खेलकुद विकास समिती, धमालाचोक, शंकरचोक र टेलीकम लगायतका स्थानमा ५ जना भन्दा वढीको समुह बनाएर नहिड्न प्रशासनले आग्रह समेत गरेको हो ।
आक्रोशित युवाहरुको भीड भएपछि स्थिति नियन्त्रणमा लिन मुस्किल भएको छ । सुर्खेत स्थित राजनीतिक दल उद्योग वाणिज्य संघ र नागरिक समाजले शान्ति पूर्ण आन्दोलन घोषणा गरेपनि आक्रोशित समूहले दिउसोदेखि प्रदर्शन जारी राखेको छ । सर्वपक्षिय समितिले अखण्ड मध्यपश्चिम घोषणा नभएसम्म संघर्ष जारी राख्ने जनाएको छ । मृतकलाई सहित घोषणा गर्नुपर्ने, घाइतेको निशुल्क उपचार गर्नु पर्ने लगायतका माग पनि समितिले राखेको छ ।











