२५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमांकन संशोधन र परिमार्जन हुन सक्ने बताएका छन् ।
सोमबार सिहदरबारमा नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले संविधान जारी नभएसम्म जनताको सुझावका आधारमा संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन भइरहने भन्दै असन्तुष्ट रहेका प्रदेशको सीमांकन संशोधन र परिमार्जन हुन सक्ने बताएका हुन् । उनले प्रदेशको सीमांकनका बिषयमा सान्दिर्भिक र आलोचनात्मक सुझाव दिइरहन पनि आग्रह गरे । संवैधानिक राजनीतिक संवाद समिति र विशेष समितिले छलफल गरी मस्यौदा परिमार्जनका लागि काम गरिरहेको उनले बताए । प्रचण्डले हाल व्यवहारिक हिसाबले कठिनाइ देखेर आम नागरिकले विभिन्न प्रदेश र अखण्डताको माग गरिरहेको पनि धारणा व्यक्त गरे ।
उनले अहिले परिस्थिति संवेदनशील भएकाले सबै संयमित हुनुपर्ने र पत्रकारहरुले पनि अराजकतालाई फाइदा नपुग्ने गरी सुझाव दिनुपर्ने उनको भनाइ थियो । पत्रकार महासंघको टोलीले संविधानमा भएका प्रतिबन्धात्मक वाक्यांश हटाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।











