२५ साउन, जुम्ला । चार दलका नेताहरुले सहमति गरेको ६ प्रदेशको अवधारण सार्वजनिक भएलगत्तै कर्णालाीवासी आन्दोलित भएका छन् । देशको पश्चिमी भागअन्तरत प्रदेश नम्बर ६ मा आन्दोलन सुरु भएको हो । आइतबार रुकुममा सुरु भएको आन्दोलन आज कर्णाली र राप्तीका अन्य जिल्लामा फैलिएको छ ।
राज्यले कर्णालीलाई सदैव पछि पार्दै आएको र अहिले पनि पछि पार्ने षड्यन्त्र सहित छलकपट गरी ६ प्रदेशको अवधारण ल्याइएको भन्दै कर्णालीवासी आन्दोलित बनेका हुन् । कर्णालीका युवाहरुले आन्दोलनको नेतृत्व गर्दै राजनीतिक दल, व्यापारि, शिक्षक, विद्यार्थी र स्थानीयवासीलाई समेत संलग्न गराएका छन् ।

सोमबार जुल्ला, मुगु, सल्यान लगायतका जिल्ला आन्दोलित भएका छन् । संघियताको नाममा कर्णालीलाई अखण्ड सुदुरपश्चिममा राखेको भन्दै मुगुमा अनिश्चितकालीन बन्दको आहवान गरिएको छ । सोमबार बिहान जिविसको सभाहलमा सम्पूर्ण राजनीतिक दल र नागरिक समाजको बैठक बसेर संघीय कर्णाली संघर्ष समितिको सगठन गरी पहिचान सहितको कर्णाली प्रदेशको माग गर्दै अनिश्चितकालीन बन्द गर्ने निर्णय गरिएको थियो ।
राजनीतिक दलका शीर्ष नेताहरुले कर्णालीवासीका माग पूरा नगरेसम्म अनिश्चितकालिन बन्द गर्ने संघर्ष समितिका संयोजक हस्तबहादुर मल्लले बताएका छन् ।
‘भेरी कर्णाली छोड्दैनौ, सुदुरपश्चिम जाँदैनौ,’ भन्ने नाराका साथ आन्दोलनमा सहभागी भएका स्थानीयवासीले सरकारी कार्यालय, होटल, पसल, गैर सरकारी संस्थाका कार्यालय बन्द गराएका छन् ।
सल्यानमा पनि अनिश्चितकालीन आन्दोलन सुरु भएको छ । प्रदेश नं ६ मा राखिएकोमा असन्तुष्टि जनाउँदै जिल्लावासी, दलका नेता सयुक्त रुपमा मिलेर आमहड्ताल गर्ने निर्णय गरेका छन् । उनीहरुले अनिश्चितकालीन सल्यान बन्दको घोषणा गरेका छन् ।
उनीहरुले अखण्ड मध्य–पश्चिमको आन्दोलनप्रति ऐक्यबद्धत्ता जनाएका छन् ।











