२३ साउन, बुटवल । सिद्धबाबामा माइक्रो बस खसेको तिनाउ नदीबाट पाँच जनाको शव प्रहरीले भर्खरै मात्र निकालेको छ । शवको सनाखत भने भएको छैन । अन्य यात्रुहरु पनि खोलामा डुबेको हुनसक्ने आशंका गरिएको छ। तर क्षतिको विस्तृत विवरण आएको छैन।
बुटवलबाट पाल्पा जाने सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको अवस्थामा एउटा माइक्रो बस तिनाउ खोलामा खसेको थियो।
पहिरोले दुवैतर्फबाट यातयात बन्द भएकोले खसेको बस उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली जान सकेको छैन। तिनाउ खोलामा बाढी आएकोले लु १ ख ५७७१ बस पानीमा डुबेको देखिएको स्थानीय प्रत्यक्षदर्शीले टेलिफोनमा सुरक्षा निकायलाई खबर गरेका थिए ।
पश्चिम क्षेत्रीय ट्राफिक कार्यलयका एसपी हरी वाग्लेले पहिरोले सडक अवरुद्ध भएकोले तिनाउ खोलामा खसेको बसको उद्धार गर्न कठिनाइ भइरहेको जानकारी दिए। डोजर प्रयोग गरेर दुवैतर्फबाट बाटो खुलाउने प्रयास भइरहेको छ।











