२३ साउन, काठमाडौं । १६ बुँदे सहमति गरेर आफ्नै सहमतिबाट पछाडि हटेका चार राजनीतिक दल आज ३ बजेसम्म सहमति जुटाउने कसरतमा छन् । सहमति जुटाएर संवाद समितिको प्रतिवेदन आज ३ बजे संविधानसभामा पेश गर्ने कार्यक्रम पर सरेको छ । । सहमति जुटाउने प्रयासमै आज विहानैदेखि संवाद समितिअन्तरगतको विशेष समितिमा शीर्ष नेताहरुले छलफल गरिरहेका छन् । विशेष समितिमा सहमति गरेर १ बजेसम्ममा संवाद समितिमा सहमतिका बुँदा प्रस्तुत गर्ने कार्यक्रम छ । सभापति बाबुराम भट्टराईले १ बजे संवाद समितिको बैठक डाकेका छन् भने संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ३ बजे संविधान सभाको बैठक राखेका थिए । तर निर्धारित समयमा सहमति नभएपछि तीन बजे डाकिएको बैठक पुनः ६ बजेलाई सारिएको छ ।
संघीयतामा जाँदा जिल्ला, अञ्चल र विकास क्षेत्र टुक्राउनुहुँदैन भन्दै केही नेताहरुको व्यक्तिगत अडानका कारण फेरि समस्या उत्पन्न भएको जनाइएको छ । अर्कोतफ कांग्रेस एमालेले संविधानमा धार्मिक स्वतन्त्रता राख्नुपर्ने भनीरहेका छन् भने एमाओवादीले धर्म निरपेक्षता नछाड्ने अडान लिएको छ । संघीयताका ६ प्रदेश बनाउने विषयमा भने सैद्धान्तिक सहमति भैसकेको जनाइएको छ ।











