२२ साउन, काठमाडौं । प्रदेश नदिए देश टुक्रयाउने धम्की दिएका कांग्रेस सभासद् अमरेश सिंहले पार्टीसमक्ष स्पष्टीकरण दिएका छन् । अभिव्यक्ति दिएको विषयमा पार्टीले सोधेको स्पष्टीकरणको कांग्रेस सभासद् सिंहले जवाफ दिएका हुन् । शुक्रबार पार्टीका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई सम्वोधन गरिएको ७ बुँदे स्पष्टीकरणमा अमरेशले पार्टीले स्पष्टीकरण सोधेकोमा आफू स्तब्ध र आश्चर्यचकित भएको भन्दै ‘पार्टीले यस्तो त्रुटी सच्याउने छ’ भनेका छन् ।
उनले राष्ट्र टुक्रयाउने कुरा आफ्नो कल्पनाभन्दा धेरै टाढाको कुरा भन्दै आफूलाई यस्तो आरोप लगाउनेको दृष्टिमा नै खोट भएको बताएका छन् । ‘राष्ट्र भनेको जनता हुन्, मधेशी जनता पनि राष्ट्र हुन् । मैले मधेशी जनताको भावनाको कुरा गरेको हुँ, अहिलेको छलफलको विषयमा उठेका विषयमा बोलेको हुँ,’ उनले भनेका छन्, ‘राष्ट्रको अखण्डता जसरी हाम्रो लागि अहम विषय हो, राज्यका सबै नागरिकको न्यायोचित अधिकारको रक्षा हुनुपर्दछ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ ।’

स्पष्टीकरणमा उनले मधेशलाई लामो समयदेखि कांग्रेसको ‘भोट बैंक’का रुपमा व्याख्या गर्दै मधेशी जनताको भावना विपतिर राय संकलन गर्न आफू असमर्थ रहेको बताएका छन् । ‘तोकिएको दिन साउन ४ र ५ मा म मेरो क्षेत्र सर्लाहीको गहरियामा जनता उच्च माविमा हज्जारौं जनताका माझ सुझाव संकलनका लागि उपस्थित थिएँ तर जिम्मा लिएका माननीय सभासद् तथा संविधान सभा सचिवालयका कर्मचारीहरु अनुपस्थित रहेका थिए,’ उनले भनेका छन् ।
सुझाव लिँदा आफू र पार्टीलाई समेत आगामी चुनावमा घाटा लाग्ने भन्दै उनले सुझाव संकलन नगरेको कुराले दीर्घकालीन रुपमा पार्टी र देशलाई फाइदा पुग्ने बताएका छन् ।
उनले अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित अन्तर्वार्ताबारे भने पत्रिकार र पत्रकारले आफ्नो भनाइ फरक किसिमले छापेको आरोप लगाउँदै उनैसँग स्पष्टीकरण सोध्न भनेका छन् ।











