२१ साउन, काठमाडौं । चार दलका शीर्ष नेताहरुबीच संघीय प्रदेशको सीमांकन लगायतका विवादित विषयमा कुरा नमिलेपछि आज बसेको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगीत भएको छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक साढे ५ बजे सुरु भएर केही बेरमै स्थगित भएको हो ।
बैठकमा बोल्दै समितिका सभापति बाबुराम भट्टराईले सीमांकन, धर्मनिरपेक्षता, भाषा लगायतका केही विषयमा सहमति हुन बाँकी रहेको बताए । उनले शुक्रबार बिहान बस्ने शीर्ष नेताहरुको बैठकले विवादित विषय टुंगो लगाउने उल्लेख गर्दै समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने बताए ।
उनले सो बैठकले प्रतिवेदन बनाई शुक्रबार नै बस्ने संविधान सभा बैठकमा प्रस्तुत गर्ने गरी आफूहरुले काम गरिरहेको पनि बताए ।

प्रमुख दलहरुका वीचमा संघीयतासहितका छ प्रदेश बनाउने विषयमा सहमति भए पनि राजनीति–संवैधानिक सहमति समितिको प्रतिवेदन तयार नपार्दासम्म सार्वजनिक नगर्ने सहमति दलहरुबीच भएको गोप्य स्रोत बताउँछ । बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने दलहरुबीच कुरा अझै नमिलेको नेपालदेश डट कमलाई जानकारी दिए ।
सिमांकनमा केही जिल्लामा विवाद बाँकी रहेको स्रोत बताउँछ । प्रदेश संख्या र सिमानासहित विशेष समितिले लगभग सबै विषय टुंग्याए पनि नवलपरासी, सप्तरी र कैलालीका सम्बन्धमा केही विवाद कायम रहेको बताइएको छ ।
अहिलेसम्म झापा, मोरङ, सुनसरीसहित पूर्वका पहाडि जिल्ला समावेश गरेर एउटा प्रदेश बनाउने, सप्तरीदेखि पर्सासम्म अर्को प्रदेश बनाउने सहमति भएको छ ।
त्यसैगरी रामेछाप, दोलखा, नुवाकोट, रसुवासहित काठमाडौं, धादिङदेखि चितवनसम्म अर्को प्रदेश बनाउने, नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश र गोरखादेखि प्युठानसम्म अर्को प्रदेश बनाउने लगभग सहमति जुटेको बताइएको छ ।











