एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग विशेष कुराकानी
क्रन्दन चापागाई/मनऋषि धिताल
२० साउन, काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु वुधबार पनि विहानैदेखि संविधानका विषयमाथि सहमति जुटाउन कसरतमा छन् । नेपाली कांग्रेसको अन्तरिक बैठक विहानै बालुवाटारमा बस्यो भने एमाले स्थायी कमिटीमा समेत नयाँ संविधानका विषयमा आजै छलफल भयो ।
दलहरुको आन्तरिक छलफल सकेर विशेष समिति बैठक ११ बजे डाकिएको थियो । तर ११ः३० हुँदासम्म पनि विशेष समिति बैठक सुरु भएको थिएन । यस्तैमा हामी (नेपाल वान टेलिभिजनका समाचार प्रमुख क्रन्दन चापागाई र जनादेश साप्ताहिकका सम्पादक मनऋषि धिताल) राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईको सचिवालयमा प्रवेश गर्यौं । भट्टराईको सचिवालयमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एक्लै बसिरहेका थिए ।
उनले भने ११ बजे विशेष समिति बैठक भनेको हुनाले म त गएर ११ बजे हाजिर गरेर यहाँ आएर बसेको । म त समयमै पुग्छु तर बैठक सुरु हुँदैन के गर्ने ।
यस्तैमा उनको लागि खाना आइपुग्यो । उनले हामीलाई सोध्दै खाना खान थाले । उनले खाना खाइरहँदा नै हामीले प्रश्न तेस्र्यायौं ।
‘दलहरुबीच कहिलेसम्म सहमति होला ?’
उनले जवाफ फर्काए ‘कुनै पनि कुरा मिलेको छैन अहिलेसम्म ।’
हामीले फेरि सोध्यौं ‘प्रदेश संख्या घटाउने कुरा आएको छ के हो ?’ उनले फेरि पनि छोटो जवाफ दिए ‘त्यस्तै कुरा चलेको छ तर सहमति भइसकेको छैन । ६ प्रदेशको नजिक कुरा भैरहेको छ ।’
प्रदेश घटाउन एमाओवादी तयार हुने कांग्रेस र एमाले प्रत्यक्ष कार्यकारी मान्न तयार भएका हुन् ?
उनले सुरुमा ‘हुन्’ भने तर उनले त्यसो भनेर ठट्टा गरेका रहेछन् । पछि उनले थपे ‘तपाईंहरुलाई विश्वास लाग्छ यस्तो पनि भए होला ?’
श्रेष्ठले प्रत्यक्ष कार्यकारीका राख्ने निर्णय हुने सम्भावना नदेखिएको संकेत गरे ।
एमालेले प्रत्यक्ष कार्यकारीको कुरा उठाइरहेको बारे प्रतिप्रश्न गर्दा उनी आक्रोशित हुँदै भने ‘प्रमुख बाधक भनेकै एमाले हो । आदिवासी, जनजाति, दलित, महिला, मजदुर भन्ने शब्दहरुप्रति नै एमालेलाई घृणा छ । ती वर्गलाई अधिकार दिने कुरा गर्यो किएमालेका केही नेताहरु विरोधमा उत्रिहाल्छन् । यसै विषयलाई लिएर अस्ति मेरो कडा विवाद पनि भयो ।’

धार्मिक स्वतन्त्रता राख्ने विषयमा त सहमति भएको हो ?
उनले भने त्यसबारे पनि केही निर्णय भएको छैन ।
आज साँझसम्म दलहरुबीच कुरा मिल्ने भन्ने खबरहरु बाहिर आएका छन् । तपाईं फेरि केहीमा पनि कुरा नमिलेको भन्नुहुन्छ के हो ?
साँझसम्म मिलाउने भनिएको छ तर मिलेको छैन । कुरा मिल्यो भने साँझसम्म मिल्छ नमिले मिल्दै मिल्दैन ।
मिल्यो भने केके आधारमा सहमति हुने सम्भावना छ ?
मिल्यो भने प्याकेजमै कुरा मिल्छ अन्यथा कुरा मिल्दैन ?
अससन्तुष्ट मधेसी दलहरुलाई पनि मिलाउने कुरा आइरहेको छ केही केही कुरा अगाडि बढेको छ ?
छैन । त्यसबारे कुनै कुरा अगाडि बढेको छैन ।
यति कुराकानी गरुञ्जेल श्रेष्ठले खाना खाइसके । कुर्सीमा राखेको कोट लगाए र झोला लिएर विशेष समितिको बैठकतिर जान भनी हिंडे ।
हामी पनि भट्टराईको सचिवालयबाट निस्कँदै थियौं । त्यही समयमा भट्राई पनि कार्यकक्षमा आइपुगे । उनी अत्यन्त हतारमा थिए । हामीले सोध्न मात्र के खोजेका थियौं । भट्टराई आफैंले भने भोलिसम्ममा सबै कुरा मिल्छ ।











