१८ साउन, काठमाडौं । सरकारले विभेदकारी र असन्तुलित ढंगले बजेट ल्याएको भन्दै प्रमुख विपक्षी एमाओवादीले सदन बहिस्कार गरेको छ ।
एमाओवादीको विरोधसँगै सोमबारको सदन स्थगित भएको छ । एमाओवादीले बहिस्कार गर्नु अघि नै सत्तापक्षकै सांसदहरुले यस आर्थिक वर्षको बजेट विरुद्ध सोमबार संसदमा नाराबाजी गरेका थिए । विनियोजन विधेयकमा छलफल सुरु हुन साथ सांसदहरुले बजेटको विरोध गरेका हुन् । उनीहरुले अर्थ मन्त्री रामशरण महतले पुनर्निर्माण र नवनिर्माणलाई ख्यालै नगरी जथाभावी बजेट ल्याएको दावी गरे । उनीहरुले महत देशको आवश्यकता बुझेर बजेट ल्याउन असफल भएको आरोप समेत लगाए ।
एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले शान्तिसम्झौता र भूकम्पपछिको अवस्थालाई वेवास्ता गर्दै बजेट ल्याएकोले यही अवस्था कायम हुन्जेल आफूहरु सदनमा नरहने जानकारी दिए । उनले विनियोजन विधेयकमाथिको छलफल अपाङ्ग र अधुरो रहेको आरोप समेत लगाए ।
पोखरेलको अभिव्यक्तिलगत्तै एमाओवादीका सांसदहरु हल बाहिर निस्किएका थिए । एमालेका सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, विदुर सापकोटा, रामहरि सुवेदी, पार्वत गुरुङसहितले बजेट कांग्रेसको महाधिवेशनमुखी भएको, मन्त्रीहरुले आफ्नो क्षेत्र केन्द्रित गरेको, महाभूकम्पको पीडालाई नबुझेको भन्दै आलोचना गरेका थिए ।











