१८ साउन, काठमाडौं । संसदीय समितिले पुनर्निर्माण प्राधिकरण तत्काल गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको व्यबस्थापिका संसद अन्तर्गतको बिकास समितिले विनासकारी भूकम्प पश्चातको पुनर्निर्माण तथा पुनःस्थापनाका काम अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो । सरकारले असार १२ मा भएको दातृ निकायहरुको अन्तराष्ट्रिय सम्मेलन अघि हतारहतारमा प्राधिकरण गठनसम्वन्धी अध्यादेश ल्याएको थियो । तर, सम्मेलनपछि प्राधिकरण गठनमा कुनै चासो दिएको छैन । समितिले भौतिक संरचना निर्माण संहिता छिटो परिमार्जन गरी कार्यान्वयनमा ल्याउन, वस्तिविकास तथा भू(उपयोग नीति बनाउन सरकार र सम्वद्ध मन्त्रालयलाई निर्देशन दिएको छ । भूकम्पले पारेको धरातलीय प्रभावको विषयमा वैज्ञानिक अध्ययन गर्नु पर्ने भन्दै विकास समितिले तत्काल अध्ययन थाल्न पुन निर्देशन दिएको छ । बैठकमा उपस्थीत हुनुभएको अर्थमन्त्री डाक्टर रामशरण महतले पुनर्निर्माण तथा पुर्नस्थापनाका कार्यहरु भईरहेको बताउनुभयो । सभासदहरुले सरकारले तीव्र ढंगले कार्य नगरेको आरोप लगाएपछि मन्त्री महत्तले सरकारले कामै नगरेको भन्ने आरोप निराधार भएको दाबी गर्नुभयो ।
बैठकले भूकम्पपश्चात सम्पन्न काम र भावी योजनाको बिबरण चार दिन भित्र समितिमा पेश गर्न सम्बन्धी निकायलाई निर्देशन पनि दिएको समिति सभापति रविन्द्र अधिकारीले जनकारी दिनुभयो ।











