१६ साउन, काठमाडौं । प्रदेश नदिए अर्कै देश बन्ने देशद्रोही अभिव्यक्ति दिने कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद्लाई कारवाही गर्ने प्रस्ताव पार्टी सभापति सुशील कोइरालाले गरेका छन् । शनिबार बालुवाटारमा बसेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पार्टीका सभासद् अमरेश कुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव सभापति सुशील कोइरालाले नै गरेका हुन्।
संसदीय दल र कार्यसमितिको संयुक्त बैठकपछि अपरान्ह बसेको केन्द्रिय समितिको बैठकमा कोइरालाले अमरेशलाई कारवाही गर्ने प्रस्ताव गरे। अमरेशको गतिविधि पार्टी नीति विपरित भइरहेकोले कारबाही गर्नु पर्यो भन्दै कोइरालाले बैठकमा प्रस्ताव गरेका थिए ।
कोइरालाको प्रस्तावमा सबै केन्द्रिय सदस्यले सहमति जनाएका थिए । तर, उनलाई के कारबाही गर्ने भन्ने चाहिँ निर्णय भएको छैन । पार्टीको अनुशासन समिति वा संसदीय दलबाट उनलाई प्रष्टिकरण सोधेर कारबाही अगाडि बढाउनु पर्ने राय सबै सदस्यहरुले दिएका छन् । बैठकको निर्णयअनुसार अमरेशलाई प्रष्टिकरण सोधिने निश्चित भएको कांग्रेसका एक नेताले जानकारी दिए । तर अमरेश भने कांग्रेस बैठकमा सहभागी थिएनन् ।
संविधानको मस्यौदाको राय संकलनका लागि पार्टीले खटाए पनि अमरेशले आफ्नो क्षेत्रमा राय सुझाव पनि संकलन गरेका थिएनन् । अराष्ट्रिय गतिविधि गरेको भन्दै अमरेशलाई मधेशमा आयोजित एक कार्यक्रममा जनताले नै लखेटेका थिए ।











