१६ साउन, काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशन सार्ने विषयलाई लिएर विवाद चर्किएको छ । पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा गाउँ र क्षेत्रीय अधिवेशन सार्ने प्रस्ताव गरेपछि देउवा पक्षले विरोध गरेको हो । गाउँ अधिवेशन भदौ १ को साटो भदौ १५ पछि सार्ने सिटौलाको प्रस्ताव पार्टीको महाधिवेशन नै सार्ने षडयन्त्र भएको भन्दै केही सदस्यहरुले विरोध गरेका थिए । सिटौलालेले भदौ १७ मा गाउँ, २२ मा क्षेत्र र २५ मा जिल्ला अधिवेशन गर्ने प्रस्ताव गरेका थिए । उनले महाधिवेशन समेत १५ दिन सार्ने प्रस्ताव गरेका थिए ।
पार्टीको महाधिवेशन असोज २ गतेभन्दा पर नसार्ने गरी गाउँ र क्षेत्रीय अधिवेशन गर्न देउवा पक्ष सहमत भए पनि केन्द्रीय र संसदीय दलको संयुक्त बैठकमा यस्तो प्रस्ताव गरिएकोमा उनीहरुले विरोध गरे । अधिवेशन सार्ने विषयमा कांग्रेसले फेरि केन्द्रीय समितिको छुट्टै बैठक गरेको छ ।
केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकमा ‘बहुलबाद’ शब्दको पक्ष–विपक्षमा समेत बहस भएको छ । बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले बहुलवादलाई आफ्नो पार्टीको मूलमन्त्र भएको बताए भने पार्टी नेतृ सुजाता कोइरालाले यो शब्दलाई एनजिओले घुसाएको बताएका थिए ।
सभापति कोइरालापछि बोलेका मन्त्री विमलेन्द्र निधीले संविधानको प्रस्तावनामा बहुलवाद किन राखिएन भनेर प्रश्न गरे । निधि बोलेको केहीबेरमा सुजाताले यो एनजिओले घुसाएको शब्द भन्दै प्रस्तावना हुनु नपर्ने तर्क गरिन् ।
सभासद् गगन थापालगायत केही नेताले भने प्रस्तावनामा कुनै पनि राजनीतिक दलको आस्था सामेल हुन नहुने बताएका थिए । केन्द्रीय सदस्य तथा सभासद् गगन थापाले लिखित रुपमा फरक प्रस्ताव राख्दै देशमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चार दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले युटर्न लिने गरेको भन्दै ओलीका कारण असजिलो भएको धारणा व्यक्त गरेका थिए । पौडेलले कुनै विषयमा आफूहरु एमालेसँग त कुनैमा एमाओवादीसँग नजिक भएको बताउँदै पार्टीले महत्वपूर्ण विषयहरुमा तत्काल निर्णय गर्नुपर्ने बताए ।











