१५ साउन, काठमाडौं । मानिसलाई विद्या दिई अन्धकारबाट प्रकाशतिर डोर्याउने व्यक्तिलाई गुरुका रूपमा पूजा र सम्मान गर्दै शुक्रबार गुरुपूर्णिमा मनाइँदै छ। सनातन परम्पराअनुसार पौराणिक कालदेखि नै विद्या दिने गुरुको सम्मानमा आजको दिनलाई मानिदै आएको छ । हिन्दू परम्पराअनुसार गुरुलाई देवतासरह मानेर पूजा गरिन्छ । गुरुको विशेष पूजा तथा सम्मान गर्ने आजका दिनलाई आचार्य दिवस पनि भन्ने गरिन्छ। हिन्दु संस्कृतिमा गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र परब्रह्मकै उच्च स्थानमा राखेर ठूलो सम्मान गरिन्छ। यस दिन विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूले आफ्ना गुरुलाई सम्मान गर्छन्। चार वेद, अठार पुराण, महाभारतका रचयिता कृष्ण द्वैपायनको पनि यसै दिन जन्म भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा पनि मनाउने गरिन्छ।











