हाम्रा संवाददाता गोकुल बानियाँले पहिरो स्थलमा पुगेर तयार पारेको यथार्थ विवरण
१४ साउन, पोखरा । अबिरल वर्षापछि मध्यरातमा आएको पहिरोले घर पुर्दा कास्कीका तीन गाविसमा ठूलो मानवीय क्षति भएको छ ।
प्राप्त पछिल्लो बिबरण अनुसार कास्कीको लुम्लेमा १६, भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा दुई गरी जम्मा २३ जनाको मृत्यु भैसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अहिलेसम्म १३ महिला, ५ पुरुष, चार वालक र एक बालिकाको शब भेटिएको छ ।
कास्कीको लुम्ले ६ मा पहिरोमा परी ८४ बर्षका बसन्ते बि.क. उनकी श्रीमती वाटुली विक, बुहारी बर्ष ३२ कि चिजा बिक, नातिनीहरु १४ बर्षिय सम्झना बिक, १० बर्षिय सलिना बिक र ९ बर्षिय नाति सुनिल बिकको ज्यान गएको छ ।
त्यस्तै बर्ष ३२ बर्षिय सुन कुमारी जिसीको घर पुर्दा उनि सहित १० बर्षिय छोरा सुगम र ५ बर्षिय संगम जिसीको मृत्यु भएको छ । पहिरोमा परेर २६ बर्षिय मन्जु सुनार र तीन महिनाको छोरी सिमा सुनारको पनि ज्यान गएको छ । यसैगरी ५६ बर्षिय छिरिङ राई, उनकी ४८ बर्षिय श्रीमतिको मृत्यु भएको छ । लुम्ले ६ का १० बर्षिय अर्जुन गुरुङ, ७० बर्षिय रत्ना पौडेल र ६५ बर्षिय पद्मी देवकोटाको पनि शब भेटिएको छ ।
पहिरोमा परी बेपत्ता दुई महिला र एक वालक सहित तीन जनाको खोजी कार्य जारी छ । लुम्लेको पहिरोमा परी घाईते भएका तीन जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घाईते २० बर्षिय रिता देवकोटा , ८ महिनाका वालक नितेस देवकोटा र १८ बर्षिय जुना सुनारको उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ ।
लुम्लेमा १० वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । स्थानिय आईत बाहदुर गुरुङ, टिकाराम देवकोटा, गुरुदत्त देवकोटा, ईन्द्र प्रसाद देवकोटा, रत्न पौडेल, खिम बहादुर क्षेत्री, पद्मीह देवकोटा, , देवताराम देवकोटा, शालिकराम देवकोटा र वसन्त बि.क को घर पहिरोमा परेको हो । राति १ बजे बस्ती माथिको लुम्ले भिरबाट खसेको पहिरोले २० हजार लिटर क्षमताको खानेपानीको ट्याङ्की फुटाएपछि त्यसले बाढीको रुप लिएको थियो ।
यसैगरी पहिरोमा परि भदौरेतामागी–५ डुँडेफाँटका ६५ बर्षिय टिकारम बिक, ५५ बर्षिय राम कुमारी बिक, ३१ ब्र्षिय गौरी पराजुली, ७ बर्षिय करण पराजुली र ६५ बर्षिय नन्दकली पराजुलीको मृत्यु भएको प्रहरी नायब उपरिक्षक केदार रजौरेले जानकारी दिए । सो स्थानमा अझै तीन जना बेपत्ता छन् । पहिरोमा परेर घाईते भएका १४ जनाको पोखराका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाईते मध्य ११ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । पहिरोले भदौरेतामागीमा १० घरमा पूर्ण क्षति भएको छ भने तीन घरमा आंशिक क्षति भएको छ ।
भिषण बर्षापछिको पहिरोले घर पुर्दा ढिकुरपोखरी गाविसमा दुई जनाको ज्यान गएको छ । पहिरोमा परि १७ बर्षिय अस्मिता दाहाल र १९ बर्षका प्रेमराज दाहालको ज्यान गएको छ । ढिकुरपोखरीको पहिरोमा पुरिएर एक जना घाईते भएका छन् । ढिकुरपोखरी ९ की ७५ बर्षिय टोपली दाहालको टाउकोमा गम्भिर चोट लागेको छ ।
पहिरोमा परेकाको उद्धार र हराएकाको खोजीको लागि नेपाली सेना, शसस्त्र प्रहरी वल र नेपाल प्रहरी खटिएका छन् ।
बुधवार रातिको बर्षाले कास्कीका एक सय भन्दा बढी स्थानमा पहिरो गएको छ । पोखरा बाग्लुङ राजमार्ग ५० भन्दा बढी स्थानमा अबरुद्ध छ । पोखराको हेम्जा स्थित सुईखेतबाट सुरु भएको अबरोध लुम्लेको पहिरो सम्म छ । बिभिन्न स्थानमा सडक माथिबाट खसेको पहिरो हटाउन पाँच बटा डोजर परिचालन गरिएको छ ।
खोलामा आएको बाढीको कारण पोखराको फेवातालमा पानीको सतह बढेको छ । ताल सुकेपछि बनेको फेवाफाट फेरि तालमै परिणत भएको छ । हेम्जाको सुईखेतमा ९ घर बिस्थापित भएका छन् । त्यस्तै पोखराको रामघाट क्षेत्र पनि डुवानमा परेको छ ।











