रामभरोसी यादव
१२ साउन, सिराहा । पेप्सी कम्पनीको पेय पदार्थ पेप्सीमा लेदो र स्लाइसमा किरा र कमिला फेला परेको छ । किरा भएको पेप्सी खाँदा सिरहाको गोलबजारमा दुई जना विरामी परेका छन् । विरामीहरुको स्थानीय श्रीराम अस्पतालमा उपचारपछि घर फर्केका छन् । गत सोमबार वेलुका गोलबजार–६ स्थित जयसवाल मिष्ठान भण्डारबाट पेप्सी किनेर खादा त्यसमा किरा र लेदो भेटिएको थियो । पेप्सी खोलेर एक घुट्को पिएर दोश्रो पटक मुखमा लगाउने वित्तिकै केही चलेको जस्तो लागेर हेर्दा किरा फेला परेको उपभोक्ता रामनारायण साहले बताए ।
बोतलमा लेदो र किरा देखेपछि लगातार भएको वान्तापछि दुवै जना बेहोस भएको स्थानीय मुकेश यादवले बताए । पसल संचालकलेभर्खरै गोलबजार स्थित रहेको स्वास्तिका कोल्ड स्टोरबाट ल्याएको बताए। भर्खरै ल्याएको भए पनि त्यहाँ भेटिएका कुनै पनि बोतलमा म्याद लेखिएको भेटिएन ।
विर्को खोलिएका दुवै बोतल इलाका प्रहरी कार्यालय गोलबजारले आफ्नो नियन्त्रणमा लिएको छ । सोही क्रममा खोजी गर्दा योभन्दा केही दिन अगाडि सिलबन्दी स्लाइसको बोतलभित्र कालो कमिला फेला परेको थियो ।
यसै सम्बन्धमा स्वास्तिक कोल्ड स्टोरका संचालक एवं पेप्सी कम्पनी सिरहाका डिलर पशुपति साहसँग प्रश्न गर्दा दुई, चार वटा बोतलमा किरा भेट्नु ठूलो कुरा नभएकोेले यसले केही फरक नपर्ने बताए । यसै सम्बन्धमा काठमाडौंमा रहेको पेप्सी कम्पनीको कार्यालयमा पटक पटक बुझन खोज्दा कार्यालयले बेबास्ता गरेको छ ।
गर्मीयाममा चिसो पेय पदार्थको प्रयोगमा बृद्धि भएको बेला बन्द बोतल भित्र कमिला भेट्नु र डिलर लगायत कम्पनीले चासो नदेखाउनु आफैंमा गम्भिर प्रश्न रहेको भन्दै स्थानीवासिन्दाले सम्बन्धित विक्रेता र कम्पनीप्रति आक्रोश पोखेका छन् ।
उपभोक्ताको स्वास्थ्माथि खेलवाड गर्ने उत्पादन कम्पनी र विक्रेता दुवैलाई कानुन बमोजिम कारवाही गर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिश्वकर्माले बताएका छन् ।















