१२ साउन, काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरेमा सहजरुपले नेपाली नागरिकता पाउनुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा नेपाल भ्रमणमा आएका जोलीले रिपोर्टर्स् क्लबको साक्षात्कारमा नागरिकता जस्तो संवेदनशील विषयमा कुरा उठाएका हुन् ।
जोलीले नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको भएको उल्लेख गर्दै नेपाली छोरासँग भारतीय छोरीले वैवाहिक सम्बन्ध गरेमा सहजरुपमा नागरिकता प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जोलीले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गर्दा सहजरुपले नागरिकता पाउनुपर्ने कुरा मात्र उठाएनन् धर्म र मधेसकेन्द्रित दलको माग पूरा गर्न समेत नेपाली नेतालाई सुझाव दिए ।
नेपालका सबै दलहरुको सहमतिबाट नयाँ संविधान जारी गर्नुपर्ने बताउँदै जोलीले नेपालको नयाँ संविधानलाई कसैको राजनीतिक दस्तावेज नबनाइ आर्थिक, सामाजिक दृष्टिकोणसहितको दस्तावेज बनाउन सुझाव दिए ।
उनले केवल सुझाव मात्र दिएनन् संविधानको मस्यौदाको विरोध गरिरहेका मधेशकेन्द्रित दलहरुको समेत सहभागितामा नयाँ संविधान जारी हुने ठोकुवा समेत गरे ।
उनले धर्मका विषयमा जनताहरुलाई नै निर्णय गर्ने अधिकार दिनुपर्ने बताए । तर नेपालको राष्ट्रितामाथिको भारत र चीनको हस्तक्षेप भने कुटनीतिक वार्ताबाट मिलाउनुपर्ने राय व्यक्त गरे । चीनसँग भएको लिपुलेक सम्झौताको विवाद कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो ।












