१२ साउन, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीस्थित जयश्री खोलाको पुल भाँच्चिएपछि यातायात अबरुद्ध भएको छ । सोमबार साँझ पुल भाँचिएपछि आवतजावत ठप्प भएको छ भने हजारौं यात्रु अलपत्र परेका छन्। पश्चिमबाट नारायणगढतर्फ आउँदै गरेका २ ट्रिपर र नारायणगढबाट पश्चिमतर्फ कोक बोकेर जाँदै गरेको ट्रक एकसाथ पार गर्न खोज्दा गैंडाकोट–७ र ९ वडा जोड्ने ३२ मिटर लामो फलामे पुल साँझ साढे ६ बजे भाँच्चिएको हो ।
पुलमा बार लगाएर सर्वसाधारणको आवतजावतमा समेत रोक लगाइएको छ ।
साना तथा हल्का सवारीसाधनलाई १ किलोमिटर दूरी घुमेर गैरीगाउँ हुँदै गन्तव्यतर्फ पठाइए पनि ट्रक तथा लामा दूरीका सवारीलाई सडकमै रोकिएको प्रहरीले जनाएको छ ।
पुल भाँच्चिएर झन्डै ५ मिटर तल खसेको छ । डाइभर्सन तयार नहुँदासम्म सवारी आवागमन सञ्चालन हुन नसक्ने जानकारी नवलपरासीका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सूर्यकुमार श्रेष्ठ दिएका छन् ।











