११ साउन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संविधानको मस्यौदा निजी विद्यालयलाई पोष्ने किसिमको रहेको भन्दै त्यसलाई परिवर्तन गराउने आश्वासन दिएका छन् । काठमाण्डौमा सोमबार आयोजित सरकारी शैक्षिक संस्थाको सुधार र बन्दै गरेको संविधानमा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा नेता नेपालले सरकारी र निजी शैक्षिक संस्थाको पठन पाठन एउटै बनाउने आश्वासन दिए ।
नयाँ संविधानमा सरकारी विद्यालय र निजी विद्यालयको पढाइको गुणस्तर समान बनाइने दोहोर्याए । शैक्षिक संस्था कमजोर हुनुमा शिक्षा र स्वास्थ्यको व्यापारीकरण रहेको पनि नेता नेपालले आंैल्याए । स्वास्थ्य र शिक्षामा भएको व्यापार करण लाई रोकेको अवस्थामा मात्रै नेपालको शैक्षिक स्तर माथि उक्लने उनको धारणा थियो ।
नेता नेपालले शैक्षिक संस्थाहरुले पछिल्ला दिनमा ब्रह्मलुट गरिरहेकोतर्फ संकेत गर्दै संविधानमै सुधार नगरे समस्या जटील बन्दै जाने पनि स्पष्ट पारे । अहिलेकै मस्यौदाका आधारमा संविधान जारी भए निजी विद्यालय पोष्ने र जनतालाई शोष्ने काम हुने उनको ठहर थियो ।
कार्यक्रममा विद्यार्थी नेताहरुले सरकारी कर्मचारीहरले आफ्ना छोरा छोरीलाई सरकारी विद्यालयमा नै पठनपाठन गराउनुपर्नेमा जोड दिएका थिए ।











