११ साउन, काठमाडौं । आज हरिशयनी एकादशी र साउने सोमबार एकसाथ परेको छ। पुण्यकार्य गर्नका लागि दुई महत्वपूण मानिने दिन एकसाथ परेकोले आजको दिने विशेष महत्वको रहेको छ । साउनको सोमबार महादेवको मनपर्ने बार भएकोले महादेवलाई खुशी पार्न विशेष व्रत गर्ने परम्परा रहेको छ भने हरिशयनी एकादशीका दिन भगवान विष्णुको उपासना गर्ने महत्वपूर्ण दिन हो । भगवान विष्णुले तुलसीको रुप लिएर पृथ्वीमा अवतरण गरेको सम्झना गर्दै आजको दिन घर आँगनमा रहेको तुलसीको विरुवा मठमा विधिपूर्वक रोप्ने गरिन्छ । एक महिनाअघि बिजारोपण गरिएको तुलसीलाई आजकै दिन रोप्ने गरिन्छ । यसैले आजको दिनलाई तुलसी रोप्ने दिन पनि भनिन्छ ।
हरिशयनी एकदशीमा हरि अर्थात् विष्णु भगवान शयन गर्ने दिन मानिन्छ । चतुर्मासभर भगवान नारायण धर्तीमा शयन मुद्रामा रहने विश्वासका साथ तुलसीको पूजा गरिन्छ ।
हरिशयनी एकादशीबाट शयन मुद्रामा भएका नारायण भगवान हरिबोधनी एकादशीका दिन वैकुण्ठ प्रस्थान गर्ने विश्वास हिन्दू धर्माबलम्वीहरुमा छ ।
तुलसीलाई धार्मिक हिसाबले महत्वपूर्ण वनस्पतिको रुपमा लिने गरिन्छ । तुलसी धार्मिक मात्र नभई वैज्ञानिक तथा औषधीय हिसाबले पनि निकै उपयोगी वनस्पति हो ।
तुलसीले सबैभन्दा धेरै अक्सिजन प्रदान गर्ने गर्छ । मानिसको मृत्यु हुने अन्तिम अवस्थामा तुलसीको मठमा राख्ने परम्परा समेत रहँदै आएको छ ।
आज साउन ११ गते साउन महिनाको सोमवार र हरिशयनी एकादशी परेकोले भगवान शिव र विष्णुको एकसाथ पूजा र उपासना गरिँदै छ । काठमाडौंको उत्तरमा रहेका बुढानिलकण्ठलाई महादेव अर्थात् निलकण्ठ र नारायण अर्थात् विष्णुको संयुक्त रुप मानिन्छ । दुवै देवताको एकसाथ एकै स्वरुपमा पूजा गर्नका लागि बुढानिलकण्ठ उपयुक्त तिर्थस्थल भएकोले आज त्यस क्षेत्रमा मानिसको भिड लागेको छ ।
यस्तै काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर लगायत देशका विभिन्न तिर्थस्थलमा भक्तजनको घुइँचो छ । स्नानका लागि विभिन्न नदीतटमा समेत मानिसको भिड छ ।











