११ साउन, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली दौडाहाबाट फिरेलगत्तै कांग्रेस नेता शेरबहादुर देउवाको दिल्ली दौडँदै छन् । एमाओवादीसँग सल्लाह गरी सकेपछि भारतले कांग्रेससँग पनि सल्लाह गर्नका लागि देउवालाई आमन्त्रण गरेको हो ।
साउन १३ गते बुधबार देउवा दिल्ली जाने निश्चित भएको हो । भारतमा देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरन्द्र मोदी, विदेश मन्त्री सुषमा स्वराजलगायतसँग भेटवार्ता गर्ने तालिका निश्चित भएको छ ।
वुधबार दिल्ली पुगे पनि देउवाले प्रधानमन्त्री मोदीसँग शुक्रबार अपरान्ह भेट गर्ने कार्यक्रम तय भएको छ । उनी ५ दिने भ्रमण पूरा गरेर साउन १८ मा नेपाल फर्कने कार्यक्रम छ ।
नयाँ संविधान लेखन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने चार राजनीतिक दलबीचको १६ बुँदे सहमति भएपछि भारतले प्रमुख राजनीतिक दलका नेताहरुसँग निरन्तर छलफल गरेको छ । सबै दलका शीर्ष नेतालाई दिल्ली बोलाउने कार्यतालिका अनुसार नै प्रचण्डपछि देउवा दिल्ली जाने भएका हुन् । अर्का पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधव नेपाल समेत दिल्ली जाने हल्ला चले पनि उनको कार्यतालिका भने बनिस नसकेको दिल्ली स्रोत बताउँछ ।











