१० साउन, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र सरकारबीच ३१ बुँदे सहमति भएको छ । सिंहदरबारमा शनिबार साँझ भएको दुईपक्षीय वार्तामा ३१ बुँदे सहमति भएको हो ।
मलेसिया लगायतका खाडी देशमा फ्रि भिसा र टिकटमा कामदार पठाउने लगायतका विषयमा सहमति जुटेको जुटेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए । सहमतिसँगै १९ दिनदेखि बन्द रहेका म्यानपावर कम्पनीहरु आजदेखि खुल्ने भएका छन् ।

फ्रि भिसा र टिकटमा विदेश गएका कामदार व्यवसायीको कमजोरीका कारण अलपत्र गरे व्यवसायीले नै नेपाल झिकाउनुपर्ने र कामदारका व्यक्तिगत कारण भए कामदार स्वयमले नै लागेको खर्च तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।
विदेश जाने कामदारसँग १० हजारभन्दा बढी शुल्क उठाउन नपाउने विषयमा सहमति जुटेको समेत मन्त्रालयले जनाएको छ ।
सरकारले असार २१ गतेदेखि शून्य लागत अर्थात् फ्रि भिसा र फ्रि टिकटमा कामदार विदेश पठाउने निर्णय गरे पनि केही व्यवसायीहरुले असन्तुष्टी जनाउँदै आएका थिए । व्यवसायीको असन्तुष्टीप्रति सर्वत्र विरोध हुँदै आएको थियो ।











