काठमाडौं, श्रावण ९ । नेकपा एमालेले जनताको राय–सुझावअनुरुप नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।शनिबार पार्टी मुख्यालय बल्खुमा बसेको पोलिटब्युरो बैठकले जनताको राय–सुझावलाई दलीय सहमतिकै आधारमा मस्यौदामा समेट्दै श्रावण २५ गतेभित्र संविधान जारी गर्नुपर्नेमा जोड दिएको नेता अरुण नेपालले जानकारी दिए । एमालेकै एजेण्डामा जनताको सुझाव आएको भन्दै प्रत्यक्ष कार्यकारी चयन गर्नेमा कांग्रेससँग सहमति खोज्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

त्यसै गरी एमालेले चार दलबीच भएको १६ बुँदे सहमतिलाई संविधान लेखनको आधार बनाउनुपर्ने र जनताका राय–सुझावहरु समेट्न पनि दलीय सहमति नै आवश्यक रहेकोमा जोड दिएको छ ।
संविधान निर्माण, पार्टीमा विभाग गठन, नियमावली पारित गर्नेलगायतका एजेन्डामा निर्णय लिन आइतबारदेखि एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । सरकारका काम कारवाही, संविधान निर्माण लगायतका विषयमा पार्टी अध्यक्ष केपी ओलीले पार्टीका कमिटीमा छलफल नगरी एकल निर्णय गरेको भन्दै माधव नेपाल पक्षधर नेताहरुले बैठक राख्न दबाब दिंदै आएका थिए ।











