६ साउन, मकवानपुर । बन्द हडताल कहिल्यै नगर्ने नारा दिएर दोस्रो संविधान सभामा २४ स्थान पुर्याएको राप्रपा नेपालले आफ्ना बाचालाई लत्याएको छ । नेपाल बन्द कहिल्यै नगर्ने भनी जनताको संवेदनामाथि टेकेर चुनावमा भोट मागेको राप्रपा नेपालले डेढ वर्ष नवित्दै बन्द हडताल गरेको छ । संविधानका लागि बाधक नबन्ने समेन भन्दै आएको सो दलले अहिले भने संविधान बन्ने देखेपछि बन्द हडताल गरेर जनतालाई सास्ती दिएको छ ।
बहुसंख्यक हिन्दूको संवेदना बटुलेर चौथो ठूलो दल भएको राप्रपा नेपाललाई अब पनि धर्मको रक्षक ठान्नु आफैलाई मूर्ख बनाउनुसरह हुने विश्लेषण बुद्धिजीवीले गरेका छन् ।
राप्रपा नेपालले आज मकवानपुर लगायतका जिल्लामा बन्द तथा हडताल गरेको छ । टायर बाल्दै बाटो अवरोध गर्नेदेखि बजार खोल्न लागेको व्यावसायीहरुमाथि हातपात गर्ने काम राप्रपा नेपालका कार्यकर्ताले गरेको जानकारी हेटौंडास्थित हाम्रा संवाददाताले दिएका छन् ।
धर्मको पुच्छर समातेर समेत भोट बटुलेको चुनावी घोषणा पत्रमा कहिलै नेपाल बन्द नगर्ने जनतासामू गरेको वाचा उसले लत्याएको छ। राप्रपा नेपालले आज झापा, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, बारा, पर्सा बन्द गरेको छ । बन्दको असर ती जिल्लाहरुमा परेको छ ।











