५ साउन, काठमाडौं । संविधान सभाको चौथो ठूलो दल राप्रपा नेपाल मंगलबारको सुझाव संकलनमा आक्रामक देखिएको छ । नयाँ संविधानको मस्यौदामाथि सुझाव संकलन गर्ने क्रममा मधेसी तथा जनजाति पार्टीहरुको सोमबारको विरोधले आफ्नो विरोध ओझेलमा परेपछि राप्रपा नेपाल आक्रमक देखिएको हो । राप्रपा नेपालले मंगलबार काठमाडौं तथा हेटौंडामा बल प्रयोग गर्दा उसका कार्यकर्ता प्रहरीबीच केहीबेर झडप भएको छ ।
काठमाडौंको थापागाउँ तथा वसन्तपुरको झडपमा केही कार्यकर्ता घाइते भए पनि हेटौंडाको झडपमा सभासद् गणेश थापा समेत घाइते भएका छन् ।
हेटौंडाको पल्पसा हलमा भइरहेको सुझाव संकलनमा अवरोध पुर्याउन खोज्दा प्रहरीसँगको झडपमा राप्रपा नेपालका सभासद गणेश थापा घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । उनी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा) अध्यक्ष समेत हुन् । प्रदर्शनकारीको नेतृत्व थापाले गरेका थिए । गणेश थापा, उनका छोरा अभिषेक थापा, राप्रपा नेपाल अध्यक्ष कमल थापा पत्नी प्रलितासहित केही कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ ।
सभासद् थापा लगायतमाथि खुकुरीले सांघातिक आक्रमण भएको दावी समेत राप्रपा नेपालले गरेको छ । यद्यपि कसले सांघातिक आक्रमण गर्यो भन्ने उसले खुलाएको छैन ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विभिन्न स्थानको झडपमा केही कार्यकर्ता घाइते भएको राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईले जानकारी दिए । यद्यपि आफ्नो दलको विरोधका क्रममा अन्य दलका कार्यकर्ताको घुसपैठ भएको हुनसक्ने दावी समेत भट्टराईले गरे ।











