४ साउन, रौतहट । संविधान सभा निर्वाचनमा नेकपा एमालेका नेता माधव कुमार नेपालसँग पाराजित भएका नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले नेता नेपालमाथि कुर्ची प्रहार गरेका छन् । निर्वाचनमा पराजित भएको बदला लिन झाले कुर्ची प्रहार गरको प्रत्यक्षदर्शीले बताएका छन् ।

संविधानको मस्यौदा माथि राय सुझाव लिन नेता नेपाल रौतहट क्षेत्र नम्वर १ को गौर नगरपालिकाको सभाकक्षमा सोमवार विहान पुगेका थिए । क्षेत्र नम्वर १ का नागरिकहरुसँग राय लिन सानो हलमा कार्यक्रम आयोजना गरेको भनेर निहुँ खोज्दै अनिल झाका र उनकी पत्नी नेता नेपालमाथि जाइ लागेका थिए । अध्यक्ष झा र निजका श्रीमती एवं सभासद डिम्पल कुर्ची उठाएर सिधै नेपाललाई प्रहार गरेका थिए । प्रहरीले कुर्ची बीचमै रोकेको थियो ।
प्रहरीले नेता नेपालमाथिको आक्रमण रोक्ने प्रयासमा लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट पुर्व सभासद बबन सिंह, तमलोपाका अनिल सिंह लगायतका एक दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएको जनाइएको छ । नेता नेपालमाथि आक्रमण गर्न आएकाले उनलाई आक्रमण गर्न नपाएपछि उनको गाडी तोडफोड गरेका थिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ ।
संविधान मस्यौदा माथि राय सुझाव संकलन गर्न सोमबार १ नम्वर क्षेत्रको गौर नगरपालिका सभाकक्षमा विहान ७ देखि ९ बजे सम्मको समय तय गरिएको थियो । यस्तै क्षेत्र नम्वर २ को दिउसो १२ देखि २ बजे राजपुर फरहदवामा र साँच ४ देखि ६ बजे सम्म क्षेत्र नम्वर ३ को मौलापुरमा सुझाव लिने कार्यक्रम तय गरिएको छ । बाँकी ३ वटा क्षेत्रमा भोली मंगलवार कार्यक्रम हुने जिल्ला प्रशासन कार्यालयबाट बुझिएको छ ।













