३ साउन, भारत । भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड भोलि सोमबार नेपाल फर्केका छन् । करिब एक साता लामो भारत भ्रमण पूरा गरी प्रचण्ड स्वदेश फर्केका हुन् । भारत सरकारको निमन्त्रणमा भएको प्रचण्डको भ्रमण नेपाली राजनीतिका भावी रुपरेखामा अर्थपूर्ण रुपमा हेरिएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी तथा विदेश मन्त्री तथा गृहमन्त्रीसँग भेटवार्ता गरेर नेपाल फर्कन लागेका हुन् ।
दुई पक्षीय हितका विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रचण्डको कुराकानी भएको भनिए पनि नेपालका भावी संविधान तथा आफ्नो राजनीतिक पोजिसनका बारेमा मोदीसँग कुराकानी भएको भारतीय स्रोत बताउँछ । प्रचण्डले भारतमा गएर नेपालमा क्रिश्चियन बढ्नु खतरापूर्ण भएको अभिव्यक्ति दिनु समेत मोदीलाई खुशी पार्नका लागि भएको विश्लेषण गरिएको छ ।
प्रचण्डले लिपु लेकको कुरा पनि गम्भीर रुपले र पहिलो विषयका रुपमा नउठाएको प्रष्ट भएको छ । प्रचण्डले संविधान जारी गर्न र संविधान जारी गरेपछि आफूलाई राष्ट्रपति बनाउन सहयोग गर्न आग्रह गरेको गोप्य श्रोत बताउँछ ।
प्रचण्डले आइतबार मोदीको गृह राज्य गुजरातका विभिन्न स्थलको भ्रमण गरेका छन् । भूकम्पपछि पुनः निर्माण गरिएका स्थल र संरचनाहरुको उनले अवलोकन गरेका थिए । शनिबार साँझ गुजरातको भुज पुगेका प्रचण्डले मोदीको राज्यको अवलोकन भ्रमण गर्नुलाई मोदीलाई खुशी पार्न गरिएको अर्को प्रयास भएको विश्लेषण अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले गरेका छन् ।
प्रचण्डले गुजरातमा पुगेर नरिवलको पानी पिउनेदेखि त्यहाँका बालबालिकासँग आत्मिय भाव देखाउने काम गरेका छन् ।
प्रचण्डपत्नी सीता दाहाल त्यहाँका स्थानीय माला तथा पहिरनमा आकर्षित भएका तस्वीरहरु सार्वजनिक भएका छन् ।











