२ साउन, काठमाडौं । मुस्लिम धर्मावलम्बीहरु एक महिने ‘रोजा’को समापन गरी शनिबार ईद उल–फित्र मनाएका छन्। एक महिनाअघि सुरु गरेको मुस्लिम समुदायहरुको रमादान पर्व रोजा सकेर आकाशमा चन्द्रमा देखिएपछि विधिवत् रुपमा सम्पन्न गर्ने प्रचलन छ । रमजान पर्व सकिएलगतै तीन दिनसम्म मुस्लिम समुदायले इद पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

शनिबार देशभरका मस्जिदमा भेला भएर इस्लाम धर्मावलम्बीहरुले ईद मुबारक आदान प्रदान गरेका छन् ।
खासगरी मुस्लिमहरुले सेता टोपी लगाएर मस्जिद जाने गरे पनि देशभरका मस्जिदमा भेला भएका कतिपय मुस्लिमहरुले नेपाली पहिचान झल्कने ढाका टोपी लगाएर समेत शुभकामना आदान प्रदान गरेको देखिन्थ्यो ।
शनिबार मस्जिद तथा मदरसाहरुमा बिहान मुस्लिम धार्मिक ग्रन्थ कुरान पाठ गरिएको थियो ।
त्यसपछि सबैले सँगै इदगाहमा नमाज पढी एकापसमा अंगालो मारी शुभकामना आदान–प्रदान गरेका थिए ।
यसै अवसरमा सरकारले आइतबार ईदको सार्वजनिक विदा दिएको छ । राष्ट्रपति डा. रामवरण यादवले पनि आज एक विज्ञप्तीमार्फत ईदको शुभकाना दिएका छन् ।











