१ साउन, काठमाडौं । भूकम्पको विपत्तिपछि उद्धारमा खटिएको नेपाली सेना व्यारेकमा फिर्ता भएको छ । गत वैशाख १२ गतेको भूकम्पपछि नेपाली सेनाले अपरेसन संकट मोचन संचालन गरी प्रभावित जिल्लाहरुमा खोज, उद्धार, राहत तथा भग्नावशेष व्यवस्थापन कार्य गरेको थियो । भूकम्पपछि सिर्जित अवस्थामा मानवीय सहयोग र जनहितका कार्यहरु गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरणतर्फ उन्मुख भएकोले सेना फिर्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी सेनाको सबै टालीहरु २०७२ असार ३१ गतेबाट व्यारेकमा फिर्ता भएको उल्लेख गरेको छ ।
सेनाले उद्धार तथा राहतका समयमा नेपाल सरकारको निर्देशन र नेपाल सरकारले तोकेको समयसीमा अनुरुप भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा अस्थायी बेश खडा गरी कार्य गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैबीच प्रधानसेनापति गौरवशमशेर राणाले अपरेशन संकट मोचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली सेनाका सकल दर्जालाई धन्यवाद सन्देश दिएका छन् ।











