दिनेश ठाकुर
३१ असार, नेपालगन्ज । नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा सोमबार दिउसो खुँडा प्रहारी गरी एक युवालाई हत्या गर्ने कार्यमा संलग्न मध्ये ११ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बिहिवार पत्रकार सम्मेलन गरी घटनामा पक्राउ परेकालाई सार्वजनिक गर्दै फरार अभियुक्तलाई पक्राउका लागि खोजीकार्य जारी रहेको जनाएको छ । नेपालगन्ज ८ का २९ बर्षिय चेतन मानन्धरलाई दिउसो खुँडा प्रहार गरी हत्या गरिएको
हो ।
हत्यामा संलग्नमध्ये रुकुम पेउघा ७ का २२ बर्षिय प्रशान्त गौतम, बाँके शम्शेगन्ज ६ का २९ बर्षिय नवराज खत्री, सुर्खेत वि.न.पा.६ का २२ बर्षिय विशाल बस्नेत, छिन्चु २ का २५ बर्षिय मोहन खड्का, बाँके महादेवपुरी २ का २१ बर्षिय केशव रोकाय, नेपालगन्ज ५ का ३२ बर्षिय प्रितम थापा, नेपालगन्ज १६ का ३२ बर्षिय माधव परीयार, दाङ्ग हलवार ३ घर भई हाल नेपालगन्ज २४ कारकादो बस्ने २७ बर्षिय हरी वली नेपालगन्ज कारकादौंका २७ बर्षिय विवाद पाठक, प्यूठान सेउलीवाङ्ग घर भइ हाल नेपालगन्ज ५ बस्ने २५ बर्षिय यमबहादुर बुढामगर, नेपालगन्ज २४ का मनिश चौलागाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बशन्तकुमार पन्तले जानकारी दिनुभयो ।
एसपी पन्तका अनुसार घटनाका मुख्य अभियुक्त तथा योजनाकार नेपालगन्ज ५ का रिगल ढकाल भन्ने योग ढकाल, नेपालगन्ज २४ का सोहनसिंह ढकाल र नेपालगन्ज कारकादौंका दिपेन्द्र सिंह फरार रहेका छन् ।
मानन्धरलाई रिगल ढकाल आफैले खुँडा प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शी तथा पक्राउ परेका व्यक्तिको बयानका आधारमा पुष्टि भएको एसपी पन्तले जानकारी दिनुभयो । घटनाका समयमा रिगलसहित चारजनासँग खुँडा भएपनि मानन्धरलाई रिगलले दाया हातमा प्रहार गरी हात छिनाएपछि रिगलसहित सबैजनाले एकसाथ हतियार छाडेर भागेको प्रहरीले जनाएको छ ।
नेपालगन्जको धम्बोझीस्थित ज्योती सिम्ताली होटलमा रहेको भारतका विभिन्न शहर जाने गाडीको काउन्टरमा बस्ने बिषयमा रिगल र मानन्धरबीच विवाद भएको प्रहरीले जनाएको छ । घटनाका दिन रिगल स्वयमले विवाद मिलाउन भन्दै मानन्धरलाई काउन्टरमा बोलाएको र योजनाबद्धरुपमा हत्या गरेको दावी प्रहरीको छ । रिगल नेपाली काङ्ग्रेस सम्वद्ध तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति हुन भने मृतक मानन्धर एमाले सम्वद्ध युवा सङ्घका सदस्य हुन् ।











