गोकुल वानियाँ
३० असार, पोखरा । पोखरा र यस आसपासको क्षेत्रका कवाडी संकलबलाई पनि पोषाक र परिचय पत्र अनिवार्य गरिएको छ । कवाडी संकलकहरुलाई बुधवार भेला गराई पोषाक र परिचय पत्र वितरण गरिएको हो ।

पेशालाई सम्मानित र मर्यादित बनाउने उद्देश्यले परिचय पत्र र पोसाक वितरण गरिएको कास्की जिल्ला कवाडी संघका अध्यक्ष केशव अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालयको अनुरोधमा यो क्षेत्रमा कार्यरतलाई ड्रेसकोर्ड र परिचयपत्र अनिवार्य गरिएको हो ।
अधिकांश कवाडी संकलकहरुमाथि चोरी गरेको र चोरीका सामान किनेको आरोप लाग्न थालेपछि प्रहरीलाई पेशालाई ब्यबस्थित , मर्यादित र बिश्वासनिय बनाउन सुझाएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पालले पनि यो ब्यवस्थाले चोरीका घटना कम हुने बताए । दुई पैसाको लोभमा चोरीको सामान नकिन्न आग्रह गर्दै उनले चोरीको सामान हो होईन बुझेर मात्रै खरिद गर्न ब्यवसायीलाई सुझाब दिए ।
साउन १ गतेदेखि परिचयपत्र र पोशाक नभएका व्यक्तिहरुलाई कवाडीजन्य बस्तु संकलनमा पूर्ण रुपमा रोक लगाउने संघका अध्यक्ष अधिकारीले बताए । कास्कीमा झण्डै १२ सयको संख्यामा कवाडी संकलकहरु छन् भने ७५ वटा संकलन केन्द्र छन् ।
पोखरामा कवाडी संकलन गर्ने मध्ये २५ प्रतिशत नेपाली र ७५ प्रतिशत भारतीय नागरिक छन् । पोखरामा दैनिक २० टन कवाड संकलन हुने गरेको तथ्यांक छ । पोखराबाट संकलन हुने कवाडीबाट दैनिक ७ देखि १० लाख रुपैयाँसम्म कारोवार हुने कवाडी ब्यबशायी संघ कास्कीले जनाएको छ । पुन प्रयोगमा आउने फोहोरलाई कवाडीको रुपमा संकलन गरिन्छ ।
पोखरामा बढ्दो शहरीकरणका कारण फोहोरको मात्रा थुप्रिदै गएको छ । २ बर्षअघि नेपालकै सफा शहर घोषित पोखरा उपमहानगरपालिका पछिल्लो समय फोहोरजन्य बस्तुहरु उत्पादन बढी हुने र ब्यवस्थापन कम हुनाले प्रदुषित बन्दै गएको छ ।
पोखराका १८ वटा वडाबाट मात्रै दैनिक ९५ टन फोहोर उत्पादन हुने गरेको छ । जस अनुसार पोखराबाट बार्षिक करिब ३५ हजार टन भन्दा धेरै फोहोर उत्पादन हुने गरेको देखिन्छ । २ बर्ष अघि गरिएको सर्भेक्षण अनुसार पोखरामा उत्पादन हुने फोहोर मध्ये ६८ प्रतिशत कुहिने खालको फोहोर छ । उत्पादित फोहोर मध्ये १८ प्रतिशत कुनै पनि काममा प्रयोग नहुने खालको छ ।
त्यसैगरी कूल फोहोर मध्ये १४ प्रतिशत फोहोरलाई पुन प्रयोग गर्न सकिने खालको छ । पुन प्रयोग गर्न सकिने खालको फोहोर प्रशोधन गरी विभिन्न खालका मालसामानहरु बनाउन सकिन्छ । यी फोहोरहरु कवाडी संकलकहरुले संकलन गरेर पुनः प्रयोगमा ल्याउँछन् ।













