२९ असार, काठमाडौं । आर्थिक वर्ष २०७२÷७३ को बजेट सार्वजनिक भएको छ ।
अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका संसदको मंगलबारको बैठकमा ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यो बजेट गत वर्षको भन्दा ५६ दशमलव ८ प्रतिशतले बढी हो ।
अर्थमन्त्री महतले भूकम्पपछिको पुनःनिर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम थाल्ने सरकारको रहेको धारणा ब्यक्त गरे । पुनःनिर्माण प्राधिकरणलाई छिट्टै पूर्णता दिइने भन्दै उनले पहिलो चरणको खर्च ६ खर्ब ६७ अर्ब खर्च हुने देखिएको बताए । आगामी ५ वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने सरकारी अठोट छ ।
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइ लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र जीवनस्तर सुधार गर्ने सरकारको योजना छ ।
जेष्ठ नागरिकले पाउँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता बढाएर एक हजार र्पुयाइएको छ । तर कर्मचारीको तलब भने बढेको छैन । शिक्षा क्षेत्रको विकासका लागि ९८ अर्ब ६४ करोड बजेट विनियोजन भएको छ । पर्यटन प्रवर्दनका लागि १ अर्ब रकम छुट्ट्याइएको छ ।
सन्चारगृहहरुले तिर्ने रोयल्टी ५० प्रतिशत कम गरी नवीकरण शुल्क नलिने घोषणा सरकारले गरेको छ । बजेटमा ६ खर्ब १४ अर्ब सरकारी स्रोत, १ खर्ब १० अर्ब विदेशी सहायता र ९५ अर्ब रुपैयाँ विदेशी ऋणबाट स्रोत जुटाउन लागिएको हो ।
बजेटमा कृषि उत्पादकत्व वृद्धि, उपभोगमा हुने खर्च कटौती गर्दै त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, पुँजी निर्माण, उत्पादनशीलमा पर्याप्त पुँजी परिचालन, तुलनात्मक लाभका वस्तु तथा सेवाको प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, प्रभावकारी आपूर्ति प्रणालीको व्यवस्था तथा बढ्दो व्यापार घाटा कम गर्न निर्यात प्रोत्साहनलगायत कार्यक्रममा जोड दिइएको छ ।











