२८ असार, नेपालगंज । प्रधानमन्त्री सुशील कोइरालाका गृहजिल्लाका कांग्रेस कार्यकर्ताले दिउँसै मानिसको हत्या गरेका छन् । नेपालगन्जको व्यस्त धम्बोजी चोकमा सोमबार दिउँसो कांग्रेसी कार्यकर्ताको समुहले धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरेको हो ।
कांग्रेस कार्यकर्ता रिगल ढकालको समूहले खुकुरी प्रहार गर्दा हात छुट्टिएका नेपालगन्ज उपमहानगरपालिका–८ का २५ वर्षीय चेतन मानन्धरको अत्याधिक रक्तश्राव भर्इ मृत्यु भएको हो ।
हात काटिएर तत्कालै अस्पताल पुर्याइएका मानन्धरलाई अस्पतालले काठमाडौं रेफर गरेको केहीक्षणमै उनको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
मानन्धरको हत्यामा संलग्न भएको आशंकामा बाँकेका विभिन्न ठाउँमा छापामारी ५ जना युवालाई पक्राउ गरिएको छ । अन्य युवाको खोजी भैरहेको छ ।
पक्राउ परेका युवाहरुले आफूहरु ‘रिगल समूह’ को भएको प्रहरीलाई बयान दिएका छन् । रिगल ढकाल तरुण दल बाँके क्षेत्र नं ३ का सभापति हुन् ।











