२७ असार, काठमाडौं । एमाओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईले एउटै मंचमा एकअर्कालाईं आरोप प्रत्यारोप गरेका छन् । आइतबार काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा उनीहरु एकअर्काप्रति आक्रोसित बनेका हुन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले राष्ट्रिय नाचघरमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा राष्ट्रिय श्रम अभियानकर्मी सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच घोचपेच र आरोप प्रत्यारोप चलेको हो ।
प्रचण्डले पार्टी बुर्जुवाकरणतर्फ अग्रसर भइरहेको, कम्युनिस्ट पार्टी नै भन्न नमिल्ने भइसकेको उल्लेख गर्दै यसले निरन्तरता पाए पार्टी नै विघटन हुने भन्दै भट्टराईप्रति व्यङ्ग्य गरे । पार्टीभित्र गुटैगुट बन्ने क्रम चलेको र नेतापिच्छे गुट बनेको भन्दै भट्टराईलाई आरोप लगाए । एउटै जिल्लामा आठवटासम्म समानान्तर कमिटी हुनु कम्युनिष्ट चरित्र नभएर बुर्जुवा चरित्र भएको उनले बताए ।
अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने तर व्यवहारमा समानान्तर कमिटी गठन गर्ने भन्दै प्रचण्डले भट्टराईलाई आरोप लगाए ।
प्रचण्डले आफ्नो क्षमताको प्रशंसा गर्दै आफ्नो नेतृत्वमा नै जनयुद्ध सञ्चालन गरी पार्टीलाई यहाँसम्म ल्याइपुर्याएको उल्लेख गरे ।
कार्यक्रममा भट्टराईले एमाओवादी यही स्थितिमा रहे पार्टीको विघटन निश्चित भएको भन्दै पार्टीलाई गलत दिशातिर प्रचण्डले लगेको आरोप लगाए । प्रचण्डको नेतृत्वमा यही अवस्थामा पार्टी अगाडि गए तथा नयाँ परिस्थितिअनुरूपको पार्टी परिवर्तन हुन आवश्यक रहेको तर्क भट्टराईले गरे ।
ुमहादेवले सतिदेवीको मरेको लाश बोकर हिडेजस्तै हिंडेर अब पार्टी अगाडि बढ्न नसक्ने भन्दै भट्टराईले प्रचण्डलाई मरेको लाशसँग तुलना गरे ।











