एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको सम्पत्तिको बेलाबेलामा चर्चा हुने गर्दछ । काठमाडौंका वानेश्वर क्षेत्र सबै प्रचण्डको हो, प्रचण्डको सम्पत्ति स्वीस वैंकमा छ भन्ने लगायतका टिप्पणीहरु बारम्बार हुने गरेका छन् । मानिसहरुका अनुमानको त के कुरा प्रचण्डकै राजनीतिक गुरु मानिने मोहन वैद्यले पनि पार्टी नेतृत्वको जीवनशैली र आचरण कम्युनिस्ट नेताको जस्तो नभएको भन्दै पार्टी नै टुक्र्याए । साँच्चै प्रचण्डको सम्पत्ति अहिले कति छ त ? सुनौं उनकै अभिव्यक्ति । अनि वाल्यकालको उनको गरीबी कस्तो थियो । गरीबीसँग उनले गरेका संघर्षहरु दारुण नै छन् । रातोपाटीले समेटेका उनका अभिव्यक्तिको सानो अंश यस्तो छ :
आठ वर्षको हुँदासम्म जन्मगाउँमै निकै गरिबीमा मेरा दिन बिते । यतिन्जेलसम्म म स्कुल भर्ना भएको थिइनँ । कहिलेकाहीँ मामाहरूले मलाई स्कुल लैजानुहुन्थ्यो । हिँड्न, दौडन सक्ने भएपछि मैले घरमै काम गरेँ । बाख्रा चराउन जान्थेँ । जंगलमा गएर साना–साना बिटा दाउराका झिँजा ल्याउँथे । पछिल्लो सात र आठ वर्ष मैले खासगरी भैँसी चराएँ । फेरि पनि यो बीचमा मामाहरूले मलाई अक्षर चिनाउनुभयो । मेरो बुवा भारतको आसाम गुहाटीमा चौकिदारको नोकरी गर्नुहुन्थ्यो । बुवा घरमा कहिलेकाहीँ, अति नै छोटो समयका लागि घरमा आउनुहुन्थ्यो । सानोमा बुवालाई मैले राम्रोसँग चिनेको पनि थिइनँ । एक–दुई दिन सँगै रह्यो फेरि छुटेर वर्ष दिनपछि भेट्दा बिर्सी पनि हाल्थेँ ।
………….
बुवाको कमाइले कास्कीमा हाम्रो गुजारा चल्ने स्थिति भएन । त्यसैले बसाइँ सरेर हामी चितवन झर्यौँ । बसाइँ सर्दा म आठ वर्षको थिएँ । चितवनमा गएर पनि तुरुन्तै स्कुल भर्ना भएर पढ्ने वातावरण बनेन । बाआमाले त्यतिबेला भनेको मलाई राम्रोसँग याद छ, कास्कीबाट २०१९ सालमा चितवन सर्दा हाम्रो कुल सम्पत्ति जम्मा बाह्र सय रुपैयाँ थियो । मात्र बाह्र सय रुपैयाँ लिएर हाम्रो परिवार नौ दिन हिँडेर चितवन पुगेको थियो । हामीले भैँसीलाई लिएर गएका थियौँ । आठ वर्षको छँदा म नौ दिनसम्म हिँडेको हुँ । चितवन गएर सुरुमा एकजना काकाको घरमा बस्यौँ । एक–डेढ महिना काकाकै घरमा बस्यौँ । त्यतिबेला चितवनमा एक हजार रुपैयाँमा एक बिघा जग्गा पाइन्थ्यो । हामीसँग बाह्र सय रुपैयाँ थियो । एक बिघा जग्गा किन्न सकिने थियो । नारायण दाहाल हुनुहुन्थ्यो, मेरो ठूल्बुवाको छोरा । ठुल्बुवाले एक हजार ऋण दिएर हामीले चितवनको शिवनगरमा दुई बिघा जग्गा किन्यौँ ।
हाम्रो आठजनाको परिवार थियो– दुई भाइ छोरा, ६ बहिनी छोरी र बाआमा । दुई बिघा जग्गाले खान, लाउन र छोराछोरी पढाउन मुस्किलै पर्ने भयो । मैले एसएलसी दिएका बेला मेरा बा बर्दियामा सरकारले जग्गा दिन्छ भनेर जानुभाथ्यो, उतै एउटा टहरो बनाएर बस्नुभाथ्यो, यता मैले एसएलसी पास गरेँ । बाको विचार थियो, एसएलसी पास भएपछि मलाई मास्टर बनाउने । छोरो कुनै गाउँमा गएर पढाओस्, पैसा कमाओस् भन्ने बाको इच्छा थियो । मलाई अझ धेरै पढ्न मन थियो । तर, घरमा बा पनि हुनुहुन्नथ्यो, एक पैसा पनि थिएन ।
………….
कम्युनिस्ट आन्दोलनमा लाग्दा र पछि जनयुद्धमा होमिँदा भएका सम्पत्ति पनि घट्दै गयो । अहिले एक कट्ठा घडेरी छ भरतपुरमा । त्यसबाहेक हाम्रो परिवारको व्यक्तिगत सम्पत्तिको रुपमा कहीँ केही पनि छैन । दुनियाँले कहीँ खोजे पनि हाम्रो नाममा कुनै चल–अचल सम्पत्ति भेटाउन सक्दैनन् ।
मैले साह्रै नजिकबाट गरिबीको महसुस गरेको छु । यसैले पनि स्वाभाविक रुपमा मेरो विचार–भावना शोषित, उत्पीडित जनताकै पक्षमा हुने भइहाल्यो । स्कुल पढ्दादेखि नै अलिकति वामपन्थी विचारधाराका शिक्षक, विद्यार्थीसँग मैले संगत गर्न पाएको थिएँ ।
जनयुद्धका बेला जनताकै बीचमा बाँचियो । कहिले गाउँले जनताका घरमा, कहिले सामूहिक रुपमा जहाँ मिल्छ, त्यहीँ बसियो । हाम्रो परिवार नै यसरी बस्यो । अहिले पनि हामीलाई पार्टीले जसरी बन्दोबस्त गरेको छ, त्यसरी नै गुजारा चलेको छ । मेरो व्यक्तिगत सम्पत्ति केही छैन ।
अहिले म सभासद् छु, प्रमुख प्रतिपक्ष दलको नेता छु । यसबाट घर खर्च चल्ने गरी नै तलब–भत्ता, अन्य सुविधा आउँछ । अहिले मलाई गुजाराकै लागि समस्या छैन । त्यस्तो ठूलै समस्या पर्यो भने, पार्टी छँदै छ ।











