२५ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन् । शुक्रबार शितल निवासमा चार दलका शीर्ष नेतासँगको बैठकमा यादवले कसैलाई शंका लागे सादा पानामा हस्ताक्षर गर्न समेत तयार रहेको बताए । संविधान निर्माणका लागि १६ वुँदे सहमति उचित भएको भन्दै यादवले २ घण्टासम्म प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छारसँग छलफल गरे । संविधान आउनेवित्तिकै आफूले राजिनामा दिने पनि यादवले प्रतिबद्धता व्यक्त गरे । राष्ट्रपतिले चार दलको सहमतिको आफूले स्वागत गरेको तर बाहिर गलत ढंगले कुरा आएको पनि बताएका थिए ।
संविधानको मस्यौदा जनतामाझ जानु सकारात्मक कार्यभएको बताउँदै यादवले जनताको रायसुझावका लागि केही समय थप गर्दा झन राम्रो हुने सुझाव समेत दिएका थिए । उहाको सुझाब थियो थियो । संघीयता र सिंमाकनका विषयलाई पछि टुंगो लगाउने कुराले अविश्वास बढ्ने हो कि भन्ने आशंका डा. यादवले व्यक्त गरेको फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले संचारकर्मीलाई दिए ।
विनाशकारी भूकम्पपछिको उद्दारमा राजनीतिक दलबीच देखिएको एकतालाई साँच्चिकै स्वागतयोग्य भन्दै यादवले दाता सम्मेलनको सफलताका लागि प्रधानमन्त्री कोइरालालाई धन्यवाद पनि दिएका थिए ।
राष्ट्रपति यादवले लोकतन्त्रलाई संस्थागत गर्ने गरी संविधान जारी गर्न भन्दै ७ वटा विषयमा सुझाव दिएका थिए । (१) राष्ट्रिय अखण्डता र अक्षुणताको संरक्षणको विषय, (२) गणतन्त्र, लोकतन्त्र र संघीयता संस्थागतको विषय, (३) स्वतन्त्र न्यायपालिका, संवैधानिक अंगहरु र सुरक्षा निकाय (विशेषत नेपाली सेनाको) नागरिक नियन्त्रण, स्वतन्त्रता, शक्ति सन्तुलन र उत्तरदायित्व, (४) सार्वभौम जनताको हक अधिकारको उचित ग्यारेन्टी र संरक्षणको व्यवस्था, (५) विधिको शासन कायम गर्ने, ६) विवादका विषय अब थाती नराखी समाधान गर्ने र (७) प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नुपर्ने सुझाव राष्ट्रपतिले दिएका छन् ।
प्रेस स्वतन्त्रता विगतभन्दा कमजोर बनाउन लागिएको बारे समेत यादवले चासो व्यक्त गर्दै उत्तरदायी बनाउने नाउँमा प्रेसलाई नियन्त्रण गर्न नहुने सुझाव दिए । आफ्नै बारेमा पनि कहिले काहीँ गलत सूचना सम्प्रेषण गरेको पाउने गरेको तर प्रेस स्वतन्त्रतालाई कतै कमजोर पार्नुपर्ने आफ्नो धारणा नरहेको उनले सम्झाए । प्रेसको स्वतन्त्रता नै लोकतन्त्रको अक्सिजन भएको उनले बताएका थिए ।











